जलाधार क्षेत्र संरक्षणमा चासो

जलाधार क्षेत्र संरक्षणमा चासो

जुम्ला । दैलेखको आठबीस नगरपालिका–४ राकमकर्णालीमा सम्पन्न तेस्रो नदी शिखर सम्मेलनले यहाँका जलाधार क्षेत्रको सरंक्षण, प्रवद्र्धन तथा विकासका लागि विज्ञहरूले चासो व्यक्त गरेका छन् । सम्मेलनमा सहभागी स्वदेश तथा विदेशका गरी झण्डै २ सय ५० पानीविद् तथा विशषज्ञहरूले कर्णालीका जलाधार क्षेत्रका सम्भावना तथा अवसरका सवालमा विशेष चासो देखाएका हुन् ।

यही चैत १५ गतेबाट सञ्चालन भएको तेस्रो नदी शिखर सम्मेलनले कर्णाली क्षेत्रका जलाधार क्षेत्र संरक्षणको सवाललाई गम्भीरतापूर्वक लिएको छ । ३ दिन चलेको सम्मेलनमा अमेरिका, बेलायत, भारत, बंगलादेश, अफ्रिका, साउथ अफ्रिका लगायत विभिन्न मुलुकका नदी विज्ञहरू सहभागि थिए ।
नदी संरक्षणका क्षेत्रमा विगतदेखि काम गरेका नेपाली विज्ञ तथा अनुसनधानकर्ता गरी झण्डै २ सय ५० जना सहभागी रहेका थिए । १५ देखि २० बुँदे कर्णाली घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले बताए ।
उनका अनुसार सम्मेलनमा छलफलका विषय धेरै भएपछि घोषणपत्रका बुँदा ड्राफ्टमात्र गरिएको छ । प्रदेशमा गएर विज्ञहरूसँग थप छलफल गरेर बँुदाहरू थपघट गर्न सकिने जानकारी उनले दिए । सम्मेलनमा कर्णालीका जलाधार क्षेत्रको सम्भावना, अवसर तथा चुनौतीका विषयमा व्यापक छलफल भएको थियो । पछिल्लो समय कर्णाली नदीका विभिन्न क्षेत्रमा भइरहेको दोहनका कारण निम्तिएको समस्या न्यूनीकरण गर्नका लागि सम्मेलनले प्रदेश तथा स्थानीय सरकारको विशेष ध्यानाकर्षण गराएको छ ।

के छ घोषणापत्रमा ?
नदी शिखर सम्मेलनले कर्णालीका जलाधार क्षेत्र, तिला कर्णाली, भेरी कर्णाली, बेतान कर्णाली, सानी भेरी, ठूली भेरी लगायत अन्य नदीनालाको संरक्षणका लागि महत्वपूर्ण घोषणापत्र जारी गरेको छ । जसलाई कर्णाली प्रदेश सरकारसमक्ष विज्ञहरूका माझ पुुनः छलफल गरी अन्तिम रुप दिइनेछ ।
कर्णाली नदीलगायत अन्य जलाधार क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्ने, कर्णाली नदीलाई पर्यापर्यटनका रुपमा विकास गर्ने, नदी दोहन गर्नेविरुद्ध कडा कारबाही गर्ने, जलचरको सरंक्षणमा विशेष सजगता अपनाउने, वातावरण प्रभाव मूल्यांकन अनिवार्य गर्ने, नदी र विकास निर्माणको पक्षलाई विशेष ख्याल गर्ने, कर्णाली नदीमा माछाको संख्या वृद्धि गर्नेलगायत विभिन्न विषय घोषणापत्रमा उल्लेख छ ।
कर्णालीका जलाधार क्षेत्रलाई विभिन्न प्रदूषणबाट बचाउन तथा नदीको दोहन रोक्न एवं जलिय प्रणालीको सुरक्षाका लागि सचेतना फैलाउन यस शिखर सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने भएको छ । सम्मेलनमा नदी संरक्षण कसरी गर्ने, नदी र योजनाबद्ध विकासको आवश्यकता, स्थानीय अनुभव आदानप्रदान, कर्णाली नदीको शिरदेखि समुद्रसम्म गरिएको अनुसन्धनाको रिपोर्ट प्रस्तुत, पर्यापर्यटन, नदीको दिर्घकालिन विकास, नदी सरंक्षणका नीति नियमबारे जानकारीलगायतका विषयमा सम्मेलनमा छलफल भएको थियो ।

नदी संरक्षणमा प्रदेश सरकार गम्भीर
नदीविद्हरूले कर्णालीका जलाधार क्षेत्रमा देखाएको चासोले कर्णालीबासी खुसी छन् । कर्णालीका पर्यटन मन्त्री नन्दसिंह बुढाले भने, “विभिन्न क्षेत्रबाट कर्णालीका जलाधार क्षेत्रप्रति देखाएको चासोले गर्दा प्रदेश सरकारलाई नदी सरंक्षणका लागि जिम्मेवारी थपिएको छ । यो सम्मेलनले कर्णाली नदीमा हुन थालेको दोहन रोक्दै नदी सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।”
जलाधार क्षेत्रको व्यवस्थापनका लागि कर्णाली घोषणापत्रमा उल्लेखित विषयलाई स्थानीय तथा प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्नेमा कर्णाली प्रदेश सभामुख राजबहादुर शाहीले जोड दिए । स्वेदशी तथा विदेशी जलविज्ञ, वैज्ञानिक तथा स्थानीय नेपालका नदी विज्ञले कर्णालीका जलाधारका सम्भावना तथा अवसरका विषयमा बोल्दा लगानीको खाँचो देखिएको उनको भनाइ छ ।
स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन लगायतका अध्ययन बिना नै नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवाको एकोहोरो दोहन गर्न रोकिने आठबीस नगरपालिकाका मेयर खड्कराज उपाध्यायले प्रतिबद्धता व्यक्त गरेका छन् । देशकै लामो तथा पर्यापर्यटनको सम्भावना बोकेको नदी सरंक्षणमा आम नागरिकदेखि सरकार उतिकै जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
सम्मेलनबाट ड्राफ्ट गरिएको कर्णाली घोषणापत्रमा आधारित प्रतिवेदनलाई कर्णाली प्रदेश सरकारलाई बुझाइने छ । जसका कारण सरकारलाई लगानी गर्न सहज हुने नेपाल नदी संरक्षण संस्थाका निर्देशक मौसम खनालले बताए । यो सम्मेलनले कर्णाली प्रदेश सरकालाई समेत जलाधार क्षेत्रको सुरक्षाका लागि नदी दोहन रोक्न कदम चाल्न सहज हुने विश्वास गरिएको छ । नदी दोहनका कारण कर्णाली नदीमा पाइने विभिन्न जलिय प्राणीहरू पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेका छन् । यसमा सम्मेलनले टेवा पुग्ने विज्ञहरूको भनाइ छ ।
मुलुककै जलस्रोत धनी कर्णालीमा लगानी नहुँदा यहाँका सम्भावनाहरू ओझेलमा परेको अवस्था छ । नदी शिखर सम्मेलनले कर्णालीका जलाधार क्षेत्रमा लगानीका क्षेत्रलाई स्पष्ट पार्दै प्रदेश, केन्द्र तथा लगानीकर्ताहरूलाई आकर्षित गर्ने विश्वास कर्णालीबासीको छ । कर्णालीको पानीमा लगानी गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने यथार्थलाई नदी शिखर सम्मेलनले देखाउने विज्ञहरूको विश्वास छ ।

प्रतिक्रिया