पछिल्लो ४ वर्षमा शेयर बजारले तय गर्यो यस्तो यात्रा

पछिल्लो ४ वर्षमा शेयर बजारले तय गर्यो यस्तो यात्रा

तिब्र उतारचढावका बिच १२७७.५५ विन्दुबाट २०७५ को पहिलो कारोबार सुरु भएको शेयर बजार अन्नत वर्षको समाप्तिमा ११८४.०२ अंकमा बन्द भएको छ । १ वर्षको योे अवधिमा शेयर बजार ९३.५३ अंकले तल झरेको छ । योसँगै पछिल्ला ४ वर्षमा शेयरले कस्तो यात्रा तय गर्यो त ? हेरौं यो सामग्री ।

२०७१ सालमा बजार परिसुचक नेप्सेको उच्चतम विन्दु १०८४ कायम भएको थियो भने यसै वर्ष नेप्से सबैभन्दा तल्लो विन्दुमा झर्दा ८०८ अंकसम्म ओर्लिएको थियो ।

२०७१ चैत देखि २०७२ चैत

२०७१ सालमा शेयर बजार परिसुचक नेप्से तल्लो विन्दुबाट उकालो लाग्दै गर्दा चैत मसान्तमा ९ सय ४८ विन्दुमा पुगेको थियो । बजारको अवस्था कमजोर भएको भन्दै सरकारले नै शेयर बजार सुधार गर्ने योजना अघि सारे पछि तत्कालिन अवस्थामा बजारले सुधारको बाटो लिएको थियो ।

यसै क्रममा २०७२ सालको विनाशकारी महाभुकम्पका कारण समग्र अर्थतन्त्रसँगै शेयर बजार पनि थलिन पुग्यो । त्यस पछि बिस्तारै तंग्रिन थालेको बजारमा साउन महिनादेखि एकाएक उछालको क्रम सुरु भयो ।

नेपाल राष्ट्र बैंकले सोही वर्षको मौद्रिक नीतिबाट बैंकहरुको चुक्ता पूँजी ४ गूणाले बढाउने योजना अघि सार्ने हल्लासँगै बढ्न थालेको बजार मौद्रिक नीति सार्वजनिक भए पछि इतिहास रच्ने बाटोमा उकालो लाग्न थाल्यो ।

कुनै पनि कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताले यो अवधिमा नोक्सान व्यहोर्नु परेन । २०७२ सालको चैत मसान्तसम्ममा आईपुग्दा बजार परिसुचक नेप्से १३८८.६३ अंकमा बन्द भएको थियो । यो एक वर्षको अवधिमा नेप्सेमा ४४०.६३ अंकको सुधार आएको थियो ।

२०७२ सालमा बजार परिसुचक नेप्सेले अधिकतम १३८८.६३ अंकसम्मको यात्रा तय गर्दा तल्लो विन्दु भने ८३८ कायम भएको थियो ।

२०७२ चैतदेखि २०७३ चैत

यो क्रम निरन्तर चल्दा २०७३ साउन १२ गते नेप्से परिसुचकले अहिलेसम्मै उच्चतम विन्दु कायम गरेर नयाँ इतिहाँस रच्यो । बैंक तथा वित्तीय संस्थाहरुले पूँजी बढाउनका लागि एक पछि अर्को गर्दै हकप्रद तथा बोनस प्रस्ताव गर्ने किसिमका पूँजी योजना सार्वजनिक गरे पछि बजारमा तिब्र उछाल आएको थियो । जसका कारण साउन १२ गतेका दिन दिन बजार परिसुचक नेप्से १८८१.४५ अंकमा पुगेको थियो ।

२०७२ चैत मसान्तमा १३८८.६३ अंकमा बन्द भएको बजार ४ महिनाको अवधिमा नै ४९२.८२ अंकले माथि चढेको थियो । यसरी आएको तिब्र उछालसँगै बजारले करेक्सन खोजिरहेको थियो । त्यस पछि क्रमिक रुपमा ओरालो लागेको बजार उतार चढावका बिच २०७३ को चैत मसान्तमा १६९७.१३ अंकमा बन्द भएको थियो । २०७२ को चैत मसान्तको तुलनामा घट्दो क्रममा पनि २०७३ चैत मसान्तमा शेयर बजार परिसुचक नेप्से ३०८.५ अंकले माथि थियो ।

२०७३ सालमा नेप्से परिसुचकले १८८१.४५ अंकसम्मको उचाई लिएर इतिहास रहेको थियो । यस वर्षको नेप्सेको न्युनतम विन्दु १२५२.५० कायम भएको थियो ।

२०७३ चैतदेखि २०७४ चैत

पछिल्ला ५ वर्षको चैत मसान्तका आधारमा मात्र हेर्दा २०७३ सालको चैत मसान्तमा कायम भएको नेप्सेको यो उचाई नै अहिलेसम्मकै उच्चतम विन्दु बनेको छ ।

त्यस पछिका दिनमा उतारचढाव झेलिरहेको बजार वर्षको अन्त्यमा भने निकै तल्लो विन्दुमा ओर्लिएको थियो । २०७४ सालको चैत मसान्तमा आईपुग्दा शेयर बजार परिसुचक नेप्से १२७७.५५ अंकमा बन्द भएको थियो । एक वर्षको यो अवधिमा नेप्से सूचक ४१९.५८ अंकले घटेको थियो । यसै वर्ष लगानीकर्ताले शेयर बजारमा सबैभन्दा धेरै नोक्सानी व्यहोरेका थिए ।

२०७४ सालमा नेप्सेले अधिकतम १६९३.७२ अंकसम्मको यात्रा तय गरेको थियो भने न्यनतम विन्दु ११६८.५५ थियो ।

२०७४ चैतदेखि २०७५ चैत

त्यस पछि पनि शेयर बजार ओरालो लाग्ने क्रम रोकिएन । २०७५ सालमा भएका विभिन्न घटनाक्रमले बजार कहिले उकालो लाग्यो त कहिले तल झर्यो । तर उकालो लाग्नेभन्दा तल झर्ने क्रम अधिक भएका कारण २०७५ सालको शेयर बजारले लगानीकर्तालाई खुसीभन्दा धेरै निराशा छोडेर गएको छ ।

यस क्रममा बढ्दो अवस्थामा रहेको बजार चैत मसान्तमा ११८४.०२ अंकमा अडिएको छ । अघिल्लो वर्षको चैत मसान्तको तुलनामा बजार परिसुचक नेप्से ९३.५३ अंकले तल नै रहेको छ ।

२०७५ सालमा नेप्सेको अधिकतम विन्दु १४३८.४९ विन्दु कायम हुँदा न्युनतम विन्दु ११००.८ सम्म ओर्लिएको थियो ।

मेरोलगानीवाट साभार गरिएको हो ।

प्रतिक्रिया