‘नमासम् राखम् कर्णाली !’

          |   प्रकाशित मितिः शनिबार, बैशाख ७, २०७६     ::: 504 पटक पढिएको   |  

वैशाख ७, काठमाडौँ –देलेख र अछाम जिल्लाको सिमाना राकम कर्णालीमा तेस्रो नदी सम्मेलन भइरहेको थियो  । नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले बारम्बार दुइटा नारा दोहोर्‍याइरहेका थिए, ‘ॐ कैलाश कर्णाली कर्म’ र ‘नमासम् ! राखम् कर्णाली  ।

यी दुई नाराको अर्थ व्याख्या गर्दै उनी भन्दै थिए, ‘विश्वका उत्कृष्ट नदीमध्ये कर्णाली पहिलो नम्बरमा पर्छ । त्यसैले अन्य नदीमा गरिएका गल्तीहरू यहाँ दोहोर्‍याउन हुँदैन । यसलाई मास्न हुँदैन । हाम्रा भविष्यका सन्ततिले कैलाश र गंगा जोड्ने यस सुन्दर नदीमा कर्म गर्न पाउनुपर्छ । यस नदीको कर्म नै यस क्षेत्रको समृद्धिको आधार हो ।’

४४ दिने कर्णालीको शिरदेखि पुच्छारसम्मको यात्रामा उनले ‘ॐ कैलाश कर्णाली कर्म’ को रचना गरेका हुन् । तिब्बतको कैलाशदेखि भारतको गंगासम्म कर्णाली नदीले १ हजार ८० किलोमिटरको यात्रा गर्छ । सो यात्रामा उनले यो नारा १ हजार ८० भन्दा पनि बढी जपे र जप्न लगाए । तेस्रो नदी सम्मेलनमा आइपुग्दा त यो कर्णाली संरक्षणको मन्त्र नै बन्न पुग्यो ।

तिब्बतदेखि हुम्लाको तुमकोटसम्म शान्त बग्ने कर्णाली नदी शिव गल्ली पार गरेर यारी खोलामा मिसिएपछि गड्गडाउन थाल्छ । सिमिकोटभन्दा तल लालिबगरमा भने कर्णाली केही बेर शान्त हुन्छ । लालिबगरको शान्त र सुन्दर रूपमा बगेको कर्णालीसँग मोहित हुँदै आलेले भविष्यमा आफ्नो अन्तिम संस्कार यही नदीमा गराउने इच्छासमेत व्यक्त गरे । दैलेख र अछामको सिमाना राकम कर्णालीमा पनि यो नदी लालिबगरमा झैं सलल बग्छ । राकममा भने नदी छेउछाउ मान्छेको चहलपहल र बस्ती देखिन्छ । राकममा मानिसहरू कर्णालीसँग अन्तरक्रिया गर्छन् । नदी वारि र पारि माझीहरूको बस्ती छ । नदी किनारामा एउटा ठूलो ‘वर’ को रूख छ । रूखको आडैमा पुरानो माझी बस्ती छ । दैलेखको यो माझी बस्ती र कर्णालीपारिको अछामका माझी बस्तीलाई जोड्ने एउटा झुलुंगे पुल छ । यस पुलमुनि नदीमा लगभग एक किलोमिटरको परिधिमा दिन रात माछा मार्नेहरू देखिन्छन् ।

यो माछा मार्ने मौसम नै रहेछ । चिसोपानीमा चलमलाउने ‘असला’ जालमा पर्ने । तलतल तराईमा गर्मी बढेपछि माछा चिसो पानी खोज्दै पहाडतिर उक्लिन्छन् । असलाको चिसोपानीतिरको यही यात्रालाई मानिसहरू ‘माछा मार्ने सिजन’ भन्छन् । केटाकेटीदेखि बूढा–पाका सबैले यो मौकाको फाइदा उठाउन काठको नाउँमा ‘करेन्ट जाल’ लिएर बगेको बग्यै हुन्छन् । नदीको वहाबसँगै बग्ने जाल भएकाले यसलाई ‘करेन्ट जाल’ भनेका होलान् । पुल तलबाट जाल हान्दै ५ सय मिटरजति तल बग्ने अनि माछा सोहोर्दै माथि पुलमुनि आएर जाल हान्न पालो कुर्नुपर्छ । लगभग नदीको चौडाइ जति नै लामो करेन्ट जालबाट माछा फुत्किनै पाउँदैन जस्तै भान हुन्छ । एउटा जालपछि अर्को जाल हान्ने समयमा केही सेकेन्डको मात्र अन्तर हुन्छ । यही केही सेकेन्डमा माथि जाने माछाले आफ्नो खुड्किलो पार गर्दा हुन् १ तर, नदीमा यही एउटा मात्र खुड्किलो भने होइन । मान्छे राकमदेखि तल पनि बस्छन्, माथि पनि १ यी सबै खड्को पार गर्ने असलाले मात्रै आफ्नो वंशलाई निरन्तरता दिन पाउनेछ !

पुलमुनि देखिन्छ, माछा किन्नेको घुइँचो । एउटा माछाको एक सय पचास । साह्रै नै ठूलो वा सानो माछाको मूल्यचाहिँ फरक–फरक । एक सयदेखि सात सयसम्म । मैले पनि माछा किनेर मोतीकला माझीलाई पकाइदिन अनुरोध गरे । उनले सहर्ष स्विकारिन् । मोतीकलाको घर कर्नालीले बनाएको टापुमा छ । हिउँदमा नदीमा पानी कम हुँदा हिँडेरै तर्न सकिन्छ । वर्षामा डुंगाको सहारा । बाढी नै आयो भने घर नै छोडेर भाग्नुपर्छ ।

मैले मोतीकलालाई पहिलोचोटि भेट्दा उनी आफ्नो घरको दैलोमा नातिलाई स्तनपान गराउँदै थिइन् । बीस वर्षकी छोरीलाई मृगौला रोगले लगेपछि, उनले नै नौमहिने दूधे नातिको पालनपोषणको जिम्मा लिइन् । मोतीकलाको दूध सुकेको सोह्र वर्ष भइसकेको थियो । तर, नौमहिने नातिले लगातार दुई महिना चुसेपछि दूध आउन थाल्यो । अहिले नाति दुई वर्षका भए ।

लगभग ५ सय मिटर तल कर्णालीको तीरमा सयौं टेन्ट बिछ्याएर कर्णाली नदी, जैविक विविधताको संरक्षण र नदीमा आश्रित मानिसहरूको जीवनस्तर कसरी उकास्ने भन्नेबारे बहस हुँदै थियो । म यो बहस छोडी डुंगा तरेर अछाम पुगें । यो कुज्जेडा गाउँमा दलित, क्षत्री र माझीका घरहरू थिए । सबैको दलिनमा जाल झुन्डिएको, सबै माछा मार्ने । लाग्थ्यो, सबै माझी १

खोलापारि दैलेखमा गाडी गुडे पनि यता भने भर्खरै फलामे गंगटाले बाटो खोस्रेको रहेछ । त्यो पनि विवादमा परेर पूरा हुन नपाउँदै तुहिएछ । कर्णाली नदीमा हजारौं मेगावाट बिजुली निकाल्ने कुरा भइरहे पनि नदी छेउको यो गाउँमा बिजुली छैन । धान कुट्ने मिल छैन । जीवन ढिकी र जाँतोको भरमै चलेको छ । तोरी पेल्न घण्टौं भारी बोकेर दुःख बेसाउनुपर्छ ।

चालीस वर्षअगाडि रोजागरीका लागि भारत गएका बेला आँखामा सानो फुलो परेको थियो– कुज्जेडाका लालबहादुर बोहराको । त्यो आँखाले नदेखेको धेरै वर्ष भयो । अहिले उनी ७५ वर्षका भए । बेलुकाको छाकका लागि हजुरआमा शारदा माझी र नातिनी चाँदनी माझी बिहानैदेखि ढिकीमा धान कुट्न व्यस्त देखिन्थे । शरुदेवी माझी र अमरबहादुर माझीको वृद्ध जोडी आफ्नो गाउँबाट तल कर्णाली बगेको मात्रै हेर्न सक्छन् । माछा मार्न नसकेको वर्षौं भइसक्यो ।

नदी उत्कृष्ट तर नदी किनारको बस्ती यति सुविधाहीन रु हजारौं मेगावाट बिजुलीका कुरा एकातिर बस्तीको अन्धकार अर्कोतिर । यस्तो किन होला रु यस्तै प्रश्न मनमा लिएर म क्याम्पमा फर्किएँ । के कर्णालीमा निकालिने बिजुलीले यो गाउँमा समृद्धि ल्याउला रु यसको सम्भावना तत्कालै देखिँदैन । बिजुली निकाल्न लगानी जुटाउन नसकी म्याद मात्रै थप्ने काम भएको कुरा सबैलाई थाहा छ । लगानी जुटाई बिजुली नै निकाले पनि यो माझी बस्तीले कुन कोणबाट फाइदा लिने हो रु त्यो थाहा छैन । वर्षौं नदी रुँगेर बस्नेलाई नदीमा हुने विकासले विनाश पनि दिने सम्भावना छ ।

समृद्धिका अन्य सम्भावना पनि होलान् । मैले भने पर्यटन, त्यसमा पनि होमस्टेमा कुज्जेडाको समृद्धिको सम्भावना देखें । अन्तर्राष्ट्रिय पर्यटकको मुख ताक्नुभन्दा पनि कुज्जेडाले आन्तरिक पर्यटकलाई स्वागत गर्न सके पुग्छ । त्यो पनि सुर्खेत र नेपालगन्जका । यसका लागि माझी बस्तीले घरहरूमा केही पूर्वाधार विकास गरी कर्णालीको माछाको परिकार र रैथाने खानाको स्वाद पस्किन सक्नुपर्छ । आन्तरिक पर्यटकको विकास हुन थालेपछि बिस्तारै अन्य विकासको बाटो पनि खुल्न थाल्छ । स्थानीय सरकार र संघ–संस्थाले यसको संवर्द्धन र प्रवर्द्धन गरिदिनुपर्छ । कुज्जेडाका माझीले देखाउने भनेकै कर्णाली नदी र माझी संस्कृति हो । त्यसैले कुज्जेडावासीले कर्णालीलाई मास्न दिनु हुँदैन । यसलाई जोगाउनुपर्छ । यसो गर्न सके मात्र कुज्जेडाले निकट भविष्यमा समृद्धि देख्न सक्ला ।

Kantipur



Leave a comment

Your email address will not be published.


*