कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भ देखाएर अधिनायकवाद लाद्न खोज्यो

कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भ देखाएर अधिनायकवाद लाद्न खोज्यो

दैलेख वैशाख १९ गते ।
प्रतिनीधि सभा सदस्य डा. डिला संग्रौलाले सरकारले कर्णाली प्रदेशको समृद्धि र विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । ‘कर्णालीको भौगोलिक विकटताका कारण अहिले पनि यहाँका नागरिकको जीवन शैलीमा कत्ति पनि परिवर्तन हुन सकेको छैन्,’ कर्णाली जागरण अभियानका क्रममा दैलेख आईपुग्नुभएकी डा.संग्रौलाले भन्नुभयो ‘कर्णालीमा छरिएर रहेको बस्तीका कारण शिक्षा, स्वास्थ्य तथा रोजगारीको पहुँच पुग्न सकेको छैन् ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहनुभएकी डा.संग्रौलाले कर्णाली प्रदेशका आम नागरिकको जीवनस्तर उकास्ने गरि कार्यक्रम ल्याउन संघीय सरकारलाई आग्रह समेत गर्नुभयो । नेपाल प्रेस यूनियन दैलेखद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा संग्रौलाले गरिबीले पिल्सीएको कर्णालीका आम नागरिकको जीवन स्तर उकास्न तीनै तहका सरकारले विशेष कार्यक्रम संचालनमा ल्याउन ध्यानाकर्षण समेत गराउनुभयो । ‘संघीयताको मर्म सिंहदरवारको अधिकार गाउँ–गाउँमा पु¥याउनु हो, तर कर्णालीका जनताले त्यसको अनुभुती गर्न पाएका छैनन्,’ डा.संग्रौलाले भन्नुभयो ‘कर्णालीमा पर्यटनको प्रचुर सम्भावना छ, यहाँ पर्यटनका पूर्वाधार निर्माणमा सरकारको ध्यान जानुपर्छ ।’ जनताले आत्मनिर्भर हुने कार्यक्रम पाउन नसकेको भन्दै समृद्ध नेपाल सुखी नेपालीको साटो दुःखी नेपाली भएको उहाँको टिप्पणी छ ।
अर्को प्रसंगमा डा.संग्रौलाले कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भ देखाएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभयो । उहाँले बर्तमान सरकार भ्रष्टचारको दलदलमा फसेको आरोप लगाउनुभयो । बर्तमान सरकार काण्डै काण्डमा फसेको बताउँदै डा.संग्रौलाले बालुवाटारको जग्गा प्रकरणमा नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा संलग्न भएको हल्ला फैलाउनु गलत भएको टिप्पणी गर्नुभयो ।
उहाँले प्रेस माथी हतकडी नलगाउन सरकारलाई आग्रह समेत गर्नुभयो । अर्को प्रसंगमा डा.संग्रौलाले नेपाली काँग्रेसले दक्षिण एसियाकै उत्कृष्ठ विधान ल्याएको दाबी गर्दै त्यसको कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । भेटघाटमा नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, नेपाल महिला संघका केन्द्रिय सदस्य गिरीजा न्यौपाने, नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता कुमारी राना लगाएत सहभागि थिए ।

प्रतिक्रिया