कर्णालीमा कृषि तथ्यांक संकलन गरिने

कर्णालीमा कृषि तथ्यांक संकलन गरिने

बैशाख २१, सुर्खेत-कर्णाली प्रदेशका जिल्लामा कृषि तथ्याङ्क सङ्कलन गरिने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीको कृषि तथ्याङ्क सङ्कलन गर्न प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रसाशकीय अधिकृतसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

मन्त्रालयले शनिवार स्थानीय तहसँग कृषि तथ्याङ्क सङ्कलन प्रशोधन, प्रविष्टि, अभिलेखीकरण र व्यवस्थापनसम्बन्धी कर्णालीका स्थानीय तहसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कर्णालीको कृषि अवस्थाको तथ्याङ्क लिनका लागि स्थानीय तहसँग अन्तरक्रिया गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

स्थानीयस्तरको आधारभूत तथ्याङ्क सङ्कलन गरी प्रदेशको एकीकृत तथ्याङ्क बनाउन स्थानीय तहसँग अन्तरक्रिया गरिएको उनले बताए । मन्त्री केसीले अनलाइन सिस्टम र सप्टवेयरको विकास गरी कृषि तथ्याङ्कलाई व्यवस्थापन गरिने बताइन् । सबै स्थानीय तहमा एकरुपताका साथ सङ्कलन गरे मात्रै दोहोरोपन हुँदैन, यसले नीति तथा योजना निर्माणमा सहजता हुन्छ, त्यसैले प्रदेशभरिको विवरण थाहा पाउन एकरुपतामा काम खोजेको हौं, उनले भनिन् ।

एकरूपतामा लिइएको विवरणले प्रदेशको नीति निर्माण गर्न सहजता हुने उनले विश्वास व्यक्त गरिन् । उनले तीन तहका सरकारबीच उचित समन्वयबाट नीति तथा योजना निर्माण गरिने बताइन् । सबै सरकारका योजना निर्माणका लागि तथ्याङ्क महत्वपूर्ण हुने भएकाले सबै स्थानीय तहहरूले आफ्नो स्थानीय तहको तथ्याङ्कलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया