महिला –पुरुषबिच मितेरी

महिला –पुरुषबिच मितेरी

‘सामाजिक विभेदका विरुद्ध हामी मितेरी हो’

बैशाख २१,नेपालगञ्ज । तपाई हामीले नाम मिलेपछि महिला महिला र पुरुष पुरुष बिच मितेर वा मित लगाएको देखेको सुनेका छौं । तर बाँके जिल्लामा भने,महिला–पुरुषबिच पहिलो पटक मितेरी लगाएका छन् । लैङ्गिक मितेरी लगाउने श्याम गिरी र श्यामकुमारी चौधरी हुन् । उनीहरुले नेपालमै पहिलो पटक औपचारिक रुपमा मितेरी लगाएका छन् । एक दशक अघि रेडियो कार्यक्रम बोल्दै गर्दा चिनजान भएपछि मितेरी नाता जोडेका हुन् ।


थर र लिंग फरक भए पनि एउटै रेडियोमा उस्तै नामका दुई पात्रले फोन सम्वाद गरिरहने क्रममा नजिक बनेका गिरी र चौधरीले लैङ्गिक तथा सामाजिक विभेदको अन्त्यका लागि मितेरी लगाएको प्रतिक्रिया दिए । उनीहरुले भने, ‘सामाजिक विभेदका विरुद्धमा हामीले औपचारिकरुपमै मितेरी लगाएका छौं ।’

रेडियोका कार्यक्रममा हुने फोन सम्वादले उनीहरुलाई मित र मितिनीको नातामा बाँधिदिएसँगै उहाँहरु दुई परिवारलाई एउटा परिवारमा बाँधिदिएको छ । गिरी भन्छन् ‘हामी १० बर्षदेखि एउटा परिवारजस्तै भएका छौं । विभिन्न कारणले औपचारिकता दिन सकिएको थिएन, हामीले अहिले औपचारिकरुपमै मितेरी लगाएका छौं ।’

नाम मिलेपछि रेडियो सम्वादकै क्रममा फोन नम्बर आदानप्रदान भएपछि आफुहरु पारिवारिकरुपमा पनि नजिकिँदै गएको उनीहरु बताउँछन् । उनीहरु भन्छन, ‘हामीले मित र मितिनी भनेर एक अर्कालाई सम्बोधन गर्यो । यो सम्बन्ध पारिवारिकरुपमा पनि निकट भयो । हामीले आफूलाई भाग्यमानी ठानेका छौं ।’

गिरी भन्छन, ‘रेडियोमा नाम सुने, मेरै नाम रहेछ । मात्रै जात र लिंग फरक, तर पनि मैले उहाँलाई मितिनीको नाता लगाए । केहीले शंका गरे । मैले त्यो शंकालाई खण्डन गरिदिए । हामी दुवैको एक अर्काका परिवारसँग भेटघाट आउजाउ हुन्छ ।’ दुई वटा परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गर्छन् ।

प्रविधि र सुचना जुराईदिएको नाता


‘हाम्रा सोंचहरु अझै नकारात्मक विकारहरुले भरिएका छन् । हामी अरुलाई राम्रो होइन, शंकाको दृष्टिले हेर्छौ । हाम्रा सोंचहरुकै कारण समाज अझै पनि पछाडि परिरहेको छ,’ चौधरी भन्छिन, ‘हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले स्वीकार गरिसकेको छ । मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रुपमा मानिरहेकी छु ।’

चौधरी भन्छिन, ‘सकारात्मक रुपमा हामी दुई परिवार एक भएका छौं । मान्छेले के बुझ्दछन् वा कुन दृष्टिले हेर्छन। त्यसमा हामीलाई वास्ता छैन । हामी पारिवारिक रुपमा एउटा परिवार भएका छौं । महिला र पुरुषहरुबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो । सामाजिक विभेदको अन्त्य आफैबाट सुरु गर्नुपर्छ ।’

सबैले समान लिंगबीच मितेरी लगाउँछन् । गिरी र चौधरीबीचको मितेरी सम्बन्ध भने नौलो र अनौठो छ । बाँकेका अगुवा पत्रकार जे.पाण्डे भन्छन, ‘मलाई अनौठो लागिरहेको छ । महिला र पुरुषबीच भएको मितेरी सम्बन्ध दुनियाँमै पहिलो हुनुपर्छ ।’ रेडियो कार्यक्रमबाट नजिक बन्नुभएका गिरी र चौधरीको मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ ।

‘मैले अहिलेसम्म जजमानी गर्दा पुरुष–पुरुष र महिला–महिलाका बीचमा मात्रै मितेरी लगाइदिने गरेको थिए । मलाई आफै पनि अनौठो लागिरहेको छ,’ पण्डित इन्द्रप्रसाद उपाध्यायले भने, ‘मैले आफूलाई पनि भाग्यमानी ठानिरहेको छु । उहाँहरुको मितेरी सम्बन्ध सबैका लागि प्रेरणादायी बनेको छ । म उहाँहरुलाई शुभकामना दिन्छु ।’

यसरी भयो चिनजान

श्याम गिरी उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन सम्वाद कार्यक्रममा उनी सम्वाद गर्न भ्याइहाल्छन् । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोपे्रमी वान’ जोडिहाल्ने ४९ बर्षिय श्याम नेपाल आयल निगम नेपालगञ्जमा कार्यरत कर्मचारी छन् ।

साथीभाईहरुसँग सहजै निकटता बनाउन सक्ने उनको खुबी हो । उनी नयाँ साथीहरुसँग छिट्टै नजिक बनीहाल्छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी श्यामले यहाँका विभिन्न एफएम स्टेशनहरुले चलाउने फोन संवाद कार्यक्रमहरुमा उहाँले फोन गरेर अन्तरक्रिया गरिरहन्छन् ।

नेपालगञ्जका प्रायः सबैजसो एफएम स्टेशनका सांगीतिक कार्यक्रमहरुमा फोन सम्वाद गरिरहने श्यामले रेडियोबाटै रेडियोपे्रमीको परिचय बनाएका छन् । रेडियोमा प्रशारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत फोन सम्वाद भइरहन्थ्यो । त्यही फोन संवादका माध्यमबाट उनले मितिनीको नाता गाँसे ।

बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियो मोह पनि उस्तै छ । उनी पनि रेडियो हिमालका सबै कार्यक्रमहरुमा फोन सम्वाद गरिरहन्थिन् । राप्तीसोनारी गाउँपालिका–५, बिनौना निवासी ३० बर्षिया श्यामकुमारी स्थानीय अगुवाका रुपमा परिचित छन् । पढाईमा स्नातक उनले विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेकी छन् ।

स्नातकसम्मको पढाई पुरा गरेकी श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षित मध्येमा कहलिन्छन् । सामाजिक विभेदविरुद्धका अभियानमा सहभागिता छुट्दैन । गाउँमा हुने सामाजिक विभेदविरुद्धका काममा अग्रसर रहने सोंच सकारात्मक भए परिवर्तन सम्भव भएको ठान्छिन् । श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करिब १९ बर्ष छ ।

प्रतिक्रिया