इतिहासकै सबैभन्दा बढी आरोही सगरमाथाको चुचुरो चुमे


काठमाडौँ – सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् ।पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ ।
यस्तै सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसअघि सन् २०१३ मा करीब पाँच सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए । सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो ।
सगरमाथा आरोहण इतिहासमा यस पटक सबैभन्दा बढी आरोही सगरमाथा आरोहणमा गएका र हालसम्म ३५० भन्दा बढीले चुचुरो चुमेको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आज बिहान मात्रै ५० आरोहीले सगरमाथा आरोहण गरेको उहाँले बताउनुभयो । सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेका थिए । त्यसयता ६६ वर्षको अवधिमा आठ हजारभन्दा बढी पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणकै क्रममा अहिलेसम्म करीब २९० आरोहीले ज्यान गुमाएको तथ्याङ्क छ । आरोहण शृङ्खलामा नयाँ नयाँ कीर्तिमान पनि कायम भएका छन् ।
कामिरिताको नयाँ कीर्तिमान
सगरमाथा आरोहीको सङ्ख्या मात्रै हैन, आरोहणमा नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । यस याममा कीर्तिमान आरोही कामिरिता शेर्पाले यही जेठ ७ गते २४औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाउनुभएको हो ।
यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गर्नुभएको थियो । उहाँ सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल हुनुभएको छ । सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामिरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर सन्यास लिने यसअघि नै बताइसक्नुभएको छ । यसअघि आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका थिए ।
सगरमाथा आरोहणमा अन्य नयाँ कीर्तिमान पनि बनेका छन् । यद्यपि, विभागले हालसम्म कति आरोहीले सगरमाथा चढे, कुन कुन कीर्तिमान भए भन्नेबारे पछि मात्र पूर्ण जानकारी गराउने जनाएको छ । अहिले विभिन्न एजेन्सीमार्फत जानकारीका आधारमा आरोहणको विवरण दिइएको विभागको भनाइ छ ।
सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार दुई दिनयता बाक्लो सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । केही आरोही फर्कने क्रममा छन् । एक÷दुई दिनमै सबै आरोही सगरमाथाको चुचुरो पुगिसक्ने जनाइएको छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले यस वर्षको आरोहण उत्साहजनक भएको बताउनुभयो । मौसमले साथ दिए अबको तीनदेखि चार दिनभित्र धेरै सङ्ख्यामा आरोहीले सगरमाथाको आरोहण सक्ने जानकारी दिँदै उहाँले आरोहणमा गएका सबै आरोही अहिले क्याम्प २ भन्दा माथि छन् । केही समूह क्याम ४ मा पुगिसकेका छन् ।
सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४४ करोड ४२ लाख ४३ हजार सगरमाथाबाट मात्र छ । सगरमाथा आरोहणका लागि विदेशीलाई ११ हजार अमेरिकी डलर र नेपालीलाई ७५ हजार रुपैयाँ सलामी दस्तुर लाग्छ ।
नेपालमा हाल पाँच हजार ८०० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएका छन् । भूगर्भविद् डा हर्क गुरुङको अध्ययन प्रतिवेदनअनुसार पाँच हजार ८०० मिटरभन्दा अग्ला १७ हजार हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमालको आरोहण खोल्न बाँकी छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठ वटा छन् । रासस
प्रतिक्रिया