आँगनमै धारा, स्थानीय दंग

आँगनमै धारा, स्थानीय दंग

हिक्मत नेपाली, दैलेख ।

हिउँद होस् या खडेरी लाग्दा पानीकै पिरलो । ठाटीकाँध गाउँपालिका– १ का देउरुपा बुढाको पीडा एकदुई बर्षको होइन् । कर्णाली राजमार्गको रामाघाटबाट करिब डेढ घण्टाको दुरीमा गाउँपालिकाकै केन्द्र पुगिन्छ । तर, गाउँपालिकाको केन्द्रमा कहिल्यै सहज खोपानी आएन् ।

ठाटीकाँध बजार देखि दुई समय मिटरको दुरीमा करधारा मुहान छ । यहाँका बासिन्दाले यहि मुहानबाट पानी ल्याउँथे । देउरुपा भन्नुहुन्छ ‘पानी भर्नका लागि सहज रुपमा कहिल्यै पालो आएन, पानी भर्नकै लागि मध्यरातसम्म लाइन बसेर कुथ्र्यौ ।’ देउरुपा मात्र होइन उमेरले ५० नाघेका रंगे थापा कुवामा पानी भर्नका लागि रातको एक बजेसम्म लाइनमा बस्नु परेको पीडा सम्झन्छन् ।

खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीय बासिन्दाका लागि अहिले खानेपानीको पिरलो हटेर गएको छ । यहाँका नागरिकको आँगनमै धारा जडान भएपछि दंग परेका छन् ।

ठाटीकाँध गाउँपालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना मार्फत ०७५ वैशाखबाट बृहत ठाटीकाँध खानेपानी तथा सरसफाई आयोजना सुरु भयो । गाउँपालिकाको १ करोड २२ लाख, परियोजनाको ६० लाख र जनश्रमदानबाट कुल २ करोड ४३ लाख ५५ हजार रुपैयाँको लागतमा अहिले घरदैलोमै खानेपानीका धारा जडान गरिएको छ ।

आयोजनाबाट ठाटीकाँध गाउँपालिका वडा नं. १, २ र ६ का १७ सय जना उपभोक्त लाभान्वित भएको आयोजनाका जलस्रोत प्राविधिक केशर शाहीले बताउनुभयो । अहिले २ सय ६७ घरधुरीमा खानेपानीका धारा जडान गर्ने भनिएपनि त्यो संख्या बढेर ३ सय पुग्ने प्राविधिक शाहीको भनाई छ ।

आयोजनाबाट हाल सम्म १ सय ७० घरधुरीमा खानेपानीको धारा जडान भईसकेको छ । बाँकी घरधुरीमा जेठ मसान्तमा धारा जडान गरेर सकिने प्राविधिक शाहीले बताउनुभयो । ठाटीकाँध गाउँपालिका–२ चुच्चेढुंगाबाट ११ किलोमिटर पाइपलाइन मार्फत खानेपानी ल्याईएको हो ।

प्राविधिक शाहीका अनुसार १२ हजार लिटर क्षमताका ६ वटा, १८ हजार लिटर क्षमताको १ वटा, १४ हजार लिटर क्षमताको १ वटा र ५ हजार लिटर क्षमताको १ वटा ट्यांकी निर्माण भएका छन् । खानेपानी आयोजना निर्माणका लागि सोसेक र एभरेष्ट क्लब दैलेखले प्राविधिक तथा सामाजिक सहजिकरण गरेका छन् ।

ठाटीकाँध बजार क्षेत्रमा २०५० साल देखिनै स्थानीयको बसोबास रहि आएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले बताउनुभयो । त्यस यता यहाँ वरपर रहेका कुवा, इनारबाट यहाँका नागरिकले खानेपानीको जोहो गर्दै आएका थिए । २५ बर्षपछि मात्रै खानेपानीका धारा घरदैलोमा पुगेको अध्यक्ष शाहीको भनाई छ ।

घरदैलोमै खानेपानी सुविधा पाएपछि यहाँका नागरिकको दैनिकी नै फेरिएको अध्यक्ष शाहीको भनाई छ ।‘एक गाग्री पानी भर्न मध्यरातसम्म घण्टौं लाइन बस्नुपर्ने, वरपरको कुवा खोज्नुपर्ने, अहिले त घर आँगनमै पानी आएको छ, कति खुसी, कति खुसी नी, स्थानीय देउरुपाले भनिन् ।

‘स्कुले केटाकेटीलाई स्कुल जान ढिला हुन्थ्यो, उनले भनिन्, ‘अहिले त समयको बचत भएको छ ।’ बर्षौ सम्म निकै सास्ती खेपेका स्थानीयको घरदैलोमै खानेपानीको व्यवस्था भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मन बहादुर लामीछानेले बताउनुभयो ।

प्रतिक्रिया