मैले जोगाउन नसकेको दुर्घटना

मैले जोगाउन नसकेको दुर्घटना

२२ बर्ष अघि २०५४ साल बैशाख ६ गते दैलेखको चुप्रामा दुर्घटनामा परेको बस । तस्विर -अमर सुनार

अमर सुनार

२०५६ मा तत्तकालिन प्रतितिनिसभा निर्वाचनको तयारी भइरहेको थियो । बैशाख २० र जेठ ४ गते गरी २ चरणमा निर्वाचन गर्ने निधो भएकोमा दैलेखका दुवै निर्वाचन क्षेत्रमा पहिलो चरणमा मतदानको गर्ने कार्यक्रम परेको थियो । निर्वाचनको प्रचार गतिविधि तीब्ररुपमा बढिरहेका थिए, राष्ट्रिय समाचार समितिको जिल्ला समाचारदाताहरुका लागि वैखाख ८ गतेदेखि काठमाण्डौँमा तय गरिएको निर्वाचन पर्यवेक्षण तथा रिपोर्टिङ्ग तालिममा सहभागी हुन वैशाख ६ गते विहान काठमाण्डौँका लागि प्रस्थान गरेँ । अहिले जस्तो सोझै काठमाण्डौँका लागि बस थिएनन्, उति बेला सुर्खेत पुगेर त्यहाँबाट काठमाण्डौँको लागि बस पाउथ्यो । त्यसैले विहान ६ बजेको पहिलो बसमा सुर्खेतसम्मको लागि यात्रामा थिएँ ।
भे १ ख ५७९ नम्वरको बसमा आफूले लिएको सीट एक जना बयोबृद्धलाई बसाएर क्याविन साँघुरो मागुरो गरेर बसेँ, सदरमुकामबाट जाँदै गर्दा २ किलोमीटर जति होला झुप्रेसालको जङ्गल काटिसकेपछि सालखर्क माथिको बरपिपलको रुखनीरबाट झण्डै बसे खसेन । उसै त लापरबाही तरिकाले गाडी चलाउने शेरे नामका ती चालक शेरबहादुर खड्का आफ्नो मामाको गाडी पाए किन नमात्तिउन ? त्यति बेला अहिले जस्तो पीच थिएन, ठाउँठाउँ धुल्याम्य र खाल्डाखुल्डी ढल्पल् गर्दैै साढे ७ बजे मात्र चुप्राबजारमा गाडी पुग्यो । त्यो गाडी साढे ८ बजे मात्र छुट्ने समय तालिका भएकोले चुप्राबजार बसपार्कमा चालक ओर्लिए, यात्रु पनि ।
यात्रुहरु सबै सीट बसिसकेका थिए तर साढे ८ बजिसक्दा पनि चालक आई पुगेनन् । खोल्साएको लसुन क्वाप्प मुखमा पार्दै चालक पनि चढे बसमा । उनी चालकको सीटमा बस्दै पनि लसुन चपाइरहेकाले मैंले सोधें ‘गुरुले लसुन खान भ्याउनु भएन क्या हो ?’ उनले भने ‘२ गिलास लगाएको केही सितन भएन, लसुन खाएको नि ।’ क्याविनमा बसेको एउटा यात्रु मेरो जिज्ञासाको जवाफ दिंदै उनले गाडी स्टार्ट गरे अनि चुप्रा बस स्टपबाट गाडी अगाडि बढ्दै थियो सय मीटर अगाडि मोड आयो तर उनले मोड काटेनन् ।
उनले मोड नकाटेको देखेपछि मैंले तराईमा राम्रो साइकल चलाउनेले ह्याण्डिल नसमाएरै पाइडिलबाट साइकल मोडे जस्तै बस पनि मोडिदो रैछ कि क्या हो ? भन्ने ठानेर चालकले हातबाट स्टेरिङ नचलाएपछि खुट्टैले पनि मोड्ने केही सजिलो तरिका रैछ कि भनेर उनेको खुट्टातिर ध्यानपू्र्वक हेर्दै थिएँ गाडीको अघिल्लो पाङ्ग्रा सडकबाट बाहिर गइसक्यो तब मात्र उनी आत्तिए, रोक्न केही प्रयास गरे तर गाडी रोकिएन ।
चालकको लापरबाहीले सडक छोडिसकेको गाडी उनको नियन्त्रण बाहिर गइसक्यो गाडी गएर गहुँबारीमा पल्टियो, त्यहीं रोकिएन । तीन बल्र्याङ् खाएर तल खोल्सा नजिकै खीरोको रुखमा अड्कियो । गाडी गएर रुखको सहारामा अड्कियो तर बाहिर निक्सने ढोका चाहिं माथि फर्किएको कारण जमिनमा धसिंदा गाडीको अगाडिको सिसा फुटिसकेकोले क्याविनको ढोका खोलेर यात्रुहरु बाहिर निस्के । युवाहरु अलि छिटो छरितो गरी निस्के बालबालिका, बृद्धबृद्धाहरु सक्ने आफै निस्के नसकेकाहरुलाई यात्रु र स्थानीयले उद्धार गरे । बस रोकिएको मौकामा छिटो बाहिर गएका युवाहरुले गाडी खीरोको रुखमा अडिएको र अब पल्टिदैन भन्ने लागेपछि उद्धारमा फर्किएका थिए ।
सदरमुकामबाट ल्याएका र चुप्रामा थपिएका १०–१२ समेत झण्डै ५० जना यात्रु लिएको बस चुप्राबजारबाट यात्रा सुरु गरेर झण्डै सय मीटर मात्र पार गर्दा त्यो दुर्घटना भयो, त्यसमा गमौडी गाविस–८ राजाकाँधकी त्यतिबेला ४३ वर्षीया महिला पद्मा योगीको ज्यान गयो । ती महिला बर्दियामा आमाको पिपलपानी हाल्न जानको लागि चुप्राबाट चढेकी रैछन्, सोधीखोजी हँु्दा थाहा भयो । गाडीका यात्रु चोट नलाग्ने कोही भएनन् गाडी मालिक तीर्थबहादुर डाङ्गी समेत ५ जना त जीवनभरकै लागि अपाङ्ग भए । दुर्घटनाकै चोटले थलिएर केही समयपछि तीर्थबहादुर डाङ्गीको निधन भयो ।
त्यो दुर्घटनामा सबैभन्दा कम चोट मलाई लाग्यो, कसरी भने गाडी पल्टिंदा गाडी स्टाफले क्याविनको माथि राखेको सिरक मेरो नजिक खस्यो मैंले टाउकोमा लपेटें । जबसम्म गाडी पूरा रोकिएन तबसम्म चेपिरहेँ, त्यसैले मलाई सबै भन्दा कम चोट लाग्यो । जब सिरकले टाउको छोपें, त्यति बेला नै मैंले सोचेको थिएँ, सबै भन्दा कम चोट मलाई नै लाग्छ । गाडी बल्र्याङ्ग बल्याङ्ग पल्टिरहँदा पनि हात खुट्टा भाँचिएला तर बाँच्छु भन्ने लागेको थियो र भयो पनि त्यही । मेरो कान थोरै काटिएको, छातिमा सामान्य चो बाहेक खासै ठूलो चोट लागेन । सामान्य उपचारपछि म आफ्नो गन्तव्य काठमाण्डौँ पुगें ।
त्यतिबेला कान्तिपुर र रासस दुबैमा समाचार लेख्थें । मिडियामा सम्वाददाता आफै दुर्घटनामा परेको समेत जोडिंदा सहानुभूती र सद्भाव त पाएँ तर मलाई अहिले पनि त्यो दुर्घटना जोगाउन नसकेकोमा पश्चाताप लागिरहन्छ । नयाँ वर्ष आएको बेला त झनै धेरै त्यो दुर्घटना स्मरणमा आइदिन्छ । पाइडिलबाट साइकल मोडे जस्तो हुन्न गाडी मोड्न स्टेरिङ घुमाउनै पर्छ भन्ने त्यसबेला मलाई ज्ञान भएको भए, चालकलाई तुरुन्त सचेत गराएर मोड काट्न लगाउथें । स्टेरिङ्ग नमोडेर साइकल जस्तो पाइडिलबाटै बस वा यस्ता गाडी मोडिदैनन् भन्ने ज्ञान नभएकै कारण मैंले त्यो दुर्घटना जोगाउन सकिन ।

प्रतिक्रिया