जीविकोपार्जनका लागि बाख्रा

जीविकोपार्जनका लागि बाख्रा

हिक्मत नेपाली
अछाम असार ६ गते ।
अछामको पञ्चदेवल विनायक नगरपालिकाका विपन्न समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउन बाख्रा वितरण गरिएको छ । नगरका ४३ घरपरिवारलाई तीन वटाका दरले बाख्रा वितरण गरिएको हो । नगरपालिकाको वडा नं. ४, ५ र ८ का विपन्न घरपरिवारलाई बाख्रा वितरण गरिएको हो । डिसिएको सहयोगमा सोसेक दैलेख मार्फत संचालित गिफ्ट परियोजनाले बाख्रा वितरण गरेको हो । नगरपालिकाको वडा नं. ४ रानीकोटको रानीकोट बाख्रा पालन समुहका १५, वडा नं. ५ आलीको आली बाख्रा पालन समुहका १८ र वडा नं. ८ घाटखेतको घाटखेत बाख्रा पालन समुहका १० गरि ४३ घरपरिवारलाई बाख्रा वितरण गरिएको परियोजना संयोजक माधव भट्टराईले बताउनुभयो । ती मध्ये चार जना एचआईभी संक्रमित र छ जना एकल महिला हुन् ।
न्यून आयस्तर भएका र विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पु¥याउन नौ लाख ८० हजार ४ सय बराबरको एक सय २९ वटा बाख्रा वितरण गरिएको संयोजक भट्टराईले बताउनुभयो । खरी जातका १८ देखि २२ केजीसम्मका बाख्रा वितरण गरिएको हो । वितरण गरिएका बाख्राको बिमा गरिएको छ । अहिले बाख्रा लिएका कृषकको पाठी ब्याएपछि दुईवटा पाठी बाख्रा पालन समुहलाई फिर्ता गर्नुपर्ने संयोजक भट्टराईले बताउनुभयो । उहाँका अनुसार ती पाठी सोहि समुदायका अन्य विपन्न घरधुरीलाई छनौट गरि वितरण गरिनेछ ।
‘प्रत्येक बाख्रा पालन समुहबाट २ जनालाई बाख्रा खरिद समितिमा ल्याईएको थियो,’ संयोजक भट्टराईले भन्नुभयो ‘नगरपालिकाको पशु शाखाको एक जना र संस्थाबाट एक जना खरिद समितिमा हुनुहुन्थ्यो ।’ बाख्रा पालन सहयोग स्वरुप बाख्रा पाएका स्थानीयले बाख्रापालन मार्फत आत्मनिर्भर बन्न सहयोग पुग्ने बताएका छन् । पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने, वडा स्थित जनप्रतिनीधिहरुले समुदायमै पुगेर बाख्रा वितरण गर्नुभएको छ । ‘बाख्राले विपन्न दलित समुदायका परिवारको जीवनस्तरमा ठूलो सहयोग पुग्नेछ,’ उप–प्रमुख चलाउनेले भन्नुभयो । बाख्रा पाएका व्यक्तिहरुलाई बाख्रा पालन सम्बन्धि तालिम समेत प्रदान गरिएको छ । नगरपालिकाको पशु शाखाले तालिमको प्रतिक्षक व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया