पार्टीको कार्यक्रममा जाँदा सेनाको हेलिकोप्टर

पार्टीको कार्यक्रममा जाँदा सेनाको हेलिकोप्टर

हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलले पार्टी बैठकमा भाग लिन सरकारी बजेट खर्च गरेर सेनाको हेलिकोप्टरमा यात्रा गरेका छन् । नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलले सुर्खेतबाट सिमकोटको यात्रा गरे । सिमकोटबाट उनीहरू कालिकोट पनि पुगे । 

कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको बजेट खर्च गरेर दुई दिन हेलिकोप्टरमा, सरकारले तिर्यो भाडा

शनिबार नेकपाको हुम्ला जिल्ला कमिटीको बैठक थियो । मुख्यमन्त्री शाही नेकपाका केन्द्रीय सदस्य हुन् भने सामाजिक विकासमन्त्री रावल पार्टी जिल्ला कमिटीका सचिव पनि हुन् । मन्त्रालयको बजेट खर्च गरेर हेलिकोप्टरमा उनी मुख्यमन्त्रीसहित बिहान सवा १० बजे सुर्खेतबाट सिमकोट आइपुगेका थिए । नेपालगन्ज र सुर्खेतबाट हरेक दिन दुई दर्जनभन्दा बढी हवाइजहाजको उडान हुम्ला पुग्छन् । तर, मुख्यमन्त्री र मन्त्रीले आपत्कालीन उद्धारका लागि राखिएको सेनाको नाइन एन आरए आई हेलिकोप्टर प्रयोग गरे । टोलीमा मुख्यमन्त्री र मन्त्रीका अलावा नेकपाका कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटी र सचिव मायाप्रसाद शर्मा पनि थिए । 

एक रात सिमकोट बसेको नेपाली सेनाको हेलिकोप्टर मुख्यमन्त्री शाहीलगायतका नेताहरूलाई कालिकोट पुर्याएर सुर्खेत फर्केको छ । आइतबार बेलुका ५ बजेर ३ मिनेटमा हेलिकोप्टर सुर्खेत फर्किएको नेपाल नागरिक उड्डयन कार्यालय हुम्लाले जनाएको छ । 

भाडा कसले तिर्यो ?
नेकपाको जिल्ला कमिटी बैठक शनिबार हुने भएपछि ताजाकोट गाउँपालिकाले आइतबार गाउँपालिकालाई मदिरामुक्त घोषणा गर्ने कार्यक्रम राखेको थियो । गाउँपालिकाले आफ्नो कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीको उडानका लागि हेलिकोप्टरको आधा भाडा तिर्ने जनाएको थियो । ‘मदिरामुक्त घोषणा कार्यक्रममा आउने हेलिकोप्टरको आधा भाडा गाउँपालिका र आधा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले व्यहोर्ने भनिएको थियो,’ ताजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले भने । 

तर, वर्षाका कारण आइतबारको कार्यक्रम रद्द भयो । मुख्यमन्त्री र मन्त्री कार्यक्रममा नआएपछि गाउँपालिकाले हेलिकोप्टरको भाडा नतिर्ने अध्यक्ष मल्लले बताए । मदिरामुक्त घोषणा कार्यक्रम १२ गतेलाई सारिएको पनि उनले जानकारी दिए । 

गाउँपालिकाले नतिरे पनि हेलिकोप्टरको तीन लाख रुपैयाँ भाडा सेनालाई तिरिसकिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले हेलिकोप्टरको भाडा चुक्ता भइसकेको जानकारी दिए । उनले सामाजिक विकास मन्त्रालयले नै भाडा तिरेको बताए । 

तर, सामाजिक विकास मन्त्रालयले भने भाडा भुक्तानीप्रति अनभिज्ञता प्रकट गरेको छ । ‘मन्त्रीज्यू गएको मात्रै जानकारी छ,’ मन्त्रालयका सूचना अधिकारी मणिराम खनालले भने, ‘भाडाबारे कुनै जानकारी छैन ।’

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्–
‘आपत्कालीन उद्धारमा नखटिएको वेला हेलिकोप्टर भिआइपी उडानमा जान्छ । सरकारले आग्रह गरेपछि कार्यक्रमको प्रकृति के हुन्छ, हामीलाई सरोकार हुँदैन । पहिलो दिन सुर्खेतबाट हुम्लाको सुतीघाट पुर्याइएको हो, मौसम बिग्रिएकाले सिमकोट पुर्याउन सकिएन । दोस्रो दिन सिमकोट हुँदै कालिकोटको उडान भयो । पहिलो दिन एक घन्टा पाँच मिनेट र दोस्रो दिन दुई घन्टा ३० मिनेट उडान भएको छ । हेलिकोप्टर दुई दिन होल्ड भयो, तर त्यो मौसमको कारणले हो । त्यसैले थप भाडा लिन मिलेन । भिआइपीका लागि प्रतिघन्टा ९४ हजारमा उडान हुन्छ । यसरी कुल भाडामा १२% डिस्काउन्ट गरेर तीन लाख रुपैयाँको बिल बनेको छ । प्रदेश सरकारले पैसा तिरिसकेको छ । 

प्रतिक्रिया