जातीय विभेदविरुद्ध अभियान

जातीय विभेदविरुद्ध अभियान

हिक्मत नेपाली, सुर्खेत ।

सुर्खेतमा जातीय विभेद र छुवाछूतविरुद्धको अभियान संचालन गरिएको छ । जातीय भेद्भाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएपनि पूर्ण रुपमा व्यवहारमा लागू नभएको अवस्थामा विभेद विरुद्ध सांगितीक नाटक अभियान संचालन गरिएको हो । जातीय विभेद विरुद्ध सुर्खेतका विभिन्न स्थानमा सांगितीक नाटक प्रर्दशन गरिएको छ ।जातीय विभेद विरुद्ध जनचेतनामुलक सांगितीक नाटक प्रर्दशनी अभियान अन्तरगर्त सुर्खेतका तीन स्थानमा नाटक प्रर्दशन भएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिका–१ सिमलचोक, कालिन्चोक र भेरीगंगा नगरपालिका–१२ छिन्चुमा नाटक प्रर्दशन गरिएको हो ।सांगितीक नाटकमा कर्णालीका दलित समुदायको भोग्दै आएको विभेद, समस्या झल्काइएको थियो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थीक सहयोगमा विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतले नाटक प्रर्दशन अभियान संचालन गरेको हो । नाटकमा कर्णालीका दलित समुदायहरुले भोग्दै आएको विभेद, समस्या र चुनौतीको अवस्था देखाइएको थियो ।

नाटक मार्फत भेद्भाव तथा छुवाछुत अन्त्य गर्न बनेका कानुनी व्यवस्थाबारे आम नागरिकलाई जानकारी दिईएको आइडिया नेपाल सुर्खेतका अध्यक्ष रचना सुनारले जानकारी दिनुभयो । ‘नाटक मार्फत जातीय विभेद अन्त्य गर्न बनेका कानुनको पालना गर्न गराउन सरोकारवाला निकायलाई दबाब दिने अभियानको लक्ष्य हो,’ अध्यक्ष सुनारले भन्नुभयो ।

‘राजनीतिक तथा नेतृत्व तहमा प्रभावकारी पहुँच पुग्न नसक्दा दलित प्रतिको दृष्टिकोण र व्यवहार फेरिन सकेको छैन्,’ अध्यक्ष सुनारले भन्नुभयो ‘दलित भएकै कारण सामाजिक मान्यता नपाउने, अपमानित हुनुपर्ने अवस्था छ, यहि अवस्थालाई न्यूनिकरण गर्न सांगितीक नाटक प्रर्दशनी अभियान थालेका हौ ।’

आइडिया नेपाल सुर्खेतका सचिव राज विश्वकर्माले निर्देशन गर्नुभएको सांगितीक नाटकमा अञ्जना सुनार, युवराज विक, मनिषा विक, सिमा नेपाली, एलिना नेपाली, शोभा विक, सम्झाना विक, कल्पना सुनार लगाएतले अभिनय गरेका थिए ।

विरेन्द्रनगर नगरपालिका–१ सिमलचोकमा भएको नाटक प्रर्दशन पछि प्रतिक्रिया दिनुहुँदै वडाध्यक्ष गंगाराम सुनारले नाटकले दलितहरुको अधिकार प्राप्ति र भेद्भाव अन्त्य गर्न मद्धत पुग्ने बताउनुभयो । नाटक हेर्न आएका दलित समुदायले आफुहरुलाई कानुनी रुपमा सचेत बनाएको प्रतिक्रिया दिएका थिए ।

ग्रैह दलितहरुले नाटकले सकारात्मक परिवर्तन ल्याउने भन्दै नाटकलाई ग्रामिण क्षेत्रमा प्रर्दशन गर्न सके जातीय भेद्भाव अन्य गर्न सहयोग पुग्ने सुझाव दिएका छन् । अभियानका क्रममा जातिय छुवाछुतका लागि विद्यालयको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम समेत गरिएको छ ।

प्रतिक्रिया