दैलेखका दुई वटा वनको वैज्ञानिक व्यवस्थापन

दैलेखका दुई वटा वनको वैज्ञानिक व्यवस्थापन

दैलेख असार २० गते ।
भैरबी गाउँपालिका –१ का वडाध्यक्ष काशिराम कार्कीले वैज्ञानिक वन व्यवस्थापनले वन क्षेत्रको संरक्षण र वातावरण अनुकूलनमा सहयोग पुग्ने बताउनुभएको छ । डिभिजन वन कार्यालयले दैलेख सदरमुकाममा आयोजना गरेको पत्रकारहरुका लागि वैज्ञानिक वन व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा उहाँले परम्परागत प्रविधिले वन संरक्षण हुन नसकेको कारण सरकारले वैज्ञानिक वन व्यवस्थापन नीति ल्याएको बताउनुभयो । उहाँले सामुदायिक वन उपभोक्ता महासंघ लगायत सरोकारवाला निकायहरुले यो कार्यक्रमलाई सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसीले जलवायु परिवर्तनको कारण बिग्रँदै गरेको वातावरण सुधार गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम परिणाममुखी हुने आशा व्यक्त गर्नु भयो । यो कार्यक्रमको महत्व र दैलेखको अवस्था विषयमा डिभिजन वन अधिकृत मुन रावतले सहजीकरण गर्नुभएको थियो ।
दैलेखको दुल्लू नगरपालिका–१० गमौडीको छितावारी सामुदायिक वन र भैरबी गाउँपालिका–१ रावतकोटको रातिखाल सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम १० वर्ष संचालन हुने बताइएको छ । एक सय हेक्टर भन्दा बढी क्षेत्रफल भएको, उपभोक्ताहरुको सक्रियता र कम भिरालालाई रोज्ने क्रममा ३ महिना अघि ती सामुदायिक वन लाई छनौट गरिएको सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिनभयो ।
दैलेखमा कुल ३ सय ८० सामुदायिक वन मध्ये ५६ वटा सामुदायिक वन मात्र नियमित रुपमा लेखा परीक्षण, आवधिक योजना बनाउने, निर्धारित समयमा साधारण सभा तथा अरु प्रशासनिक काम गर्दै आएका छन् । अन्य सामुदायिक वनहरुलाई व्यवस्थापकीय प्रणाली सहयोग आवश्यक रहेको डिभिजन वन अधिकृत रावतले बताउनुभयो ।

प्रतिक्रिया