आमा र बज्यै हत्या आरोपमा जन्मकैद

आमा र बज्यै हत्या आरोपमा जन्मकैद

फोटो फाइल/अमर सुनार

दैलेख -कोदालो प्रहार गरी दुई जना महिलाको हत्या गरेको कसूरमा नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ ।
उनले ०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र बज्यै ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेका थिए ।
बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत ज्यान मार्न खोजेको भन्ने कसूरमा अदालतले २ वर्ष कैद र २० हजार रुपैंया जरिवाना भएको बताइएको छ ।
दैलेख जिल्ला अदालतका जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज सो फैसला भएको हो ।

मुुलुकी अपराध सहिंता २०७४ को दफा ४१ (क) तथा दफा १७७ (१)को कसूरमा दफा १७७ (२) तथा सोही सहिंताको दफा ४१ बमोजिम जन्मकैद र ज्यानमार्ने उद्योग तर्फ सोही सहिंताको दफा १८३ (१)को कसूरमा सोही दफा १८३ (२) दुई वर्ष कैद र २० जरिवाना भएको जनाइएको छ ।
यो मुद्दाको पक्षमा सरकारी वकील द्रोणदत्त पौडेल र प्रतिवादीको तर्फबाट वैतनिक वकील सर्वराज जोशीले बहस पैरबी गरेका थिए ।

घरायसी बिवादमा रुखमा गएर नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्न सम्झाउँदा आक्रमण गर्न खोजेको बेला आमा पार्वतीको हत्या गरी त्यसपछि करिव ४ सय मीटर टाढा आफ्नै घरमा बज्यै जुवारालाई घाइते बनाएका थिए । घटना विवरण अनुसार पासो खोल्न जाँदा आफै माथि आक्रमण गर्न खोजेका छोराबाट जोगिन भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला आमा पार्वतीकोे कोदालोले टाउकोमा प्रहार गरिएको चोटले घटनास्थलमै प्राण गएको थियो ।

आमाको प्राण गइसकेपछि आफ्नो घरमा माथिल्लो तलामा काम गर्दै गरेकी बज्यै जुवाराकालाई पनि प्रहार गर्न खोजेपछि दौड्दै तल्लो तलामा पुगेको बेला त्यही कोदालोले हिर्काएर घाइते बनाएका थिए । जुवाराको उपचारको क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएका थियो ।
छिमेकीहरुलाई आतंकित पारेको भन्ने सूचनाको आधारमा तत्काल घटनास्थल पुगेको प्रहरीले समेत बालारामलाई नियन्त्रणमा लिन मुश्किल परेको थियो ।
यो घटना २ वर्ष अघि बालारामले आफैले ब्लेटले घाँटीको केही भाग रेटेर घाइते हुँदा २ महिना अस्पतालमा राखी उपचार गरिएको थियो । घटनामा मृतकको शव पोष्टमार्टम पुस ३ गते दैलेख अस्पतालमा गरिएको थियो । कसूरदार बालारामलाई प्रहरीले पुस २ गते नै हिरासतमा राखी अनुसन्धान थालेकोमा पुस २३ गते अभियोग पेशपछि उनलाई पुर्पक्षका लागि कारागारमा राखिएको थियो ।

प्रतिक्रिया