फेरिँदै जातिय विभेदको स्वरुप

फेरिँदै जातिय विभेदको स्वरुप

दैलेख असार २४ ।
नारायण नगरपालिका दैलेख स्थित नमुना बस्तीका पवित्रा वादी वादी समुदायको अगुवा हुन् । नमुना बस्तीमा धेरैजसो दलित समुदायको बसोबास छ । उनि जिल्लामा हुने विभिन्न कार्यक्रमहरुमा पुग्छिन् । प्राय स्थानमा घुमाउरो शैलीमा विभेदमा परेको उनको अनुभव छ । ‘कार्यक्रममा गएर खाना खाँदा होस् या अन्य क्रियाकलापमा ग्रैहदलित दिदिवहिनीहरुले असहज व्यवहार गर्नुहुन्छ,’ पवित्राले भन्नुभयो ‘कहिलेकाँही त अरु होटल भित्र सबै संगै बसेर चिया खाजा खानुहुन्छ, आफु बाहिरै बसेर फर्कीएको छु ।’ पवित्रा जस्तै धनासिंह वादीको अनुभव पनि उस्तै छ । दैलेख सदरमुकाममै हिड्दै गर्दा ग्रैह दलित महिलाहरुले ‘बदिनी, दमिनी, कमीनी’ जस्ता अपशव्दहरु प्रयोग गर्दैै हिडेको सुनेको उहाँको भनाई छ । ‘यसलाई पनि गैर दलितले दलित समुदायमाथि गरेको विभेदका रूपमा हामीले लिएका छौ,’ उहाँले भन्नुभयो । जातिय विभेदबाट दलित समुदायका महिलाहरु बढि पीडित भईरहेको उहाँको बुझाई छ ।
दैलेख सदरमुकाम नजिकै बसोबास गर्दै आएकी सिता सुनारले आफु अन्तरजातिय विवाह गर्दा माइती र पोइली घरबाट हेलाँहा नगरेपनि समाजको हेलाँहा र विभेद सहरै बसेको बताउनुभयो । पवित्रा, धनासिंह र सिता जस्तै दैलेखका आयोजित एक कार्यक्रमका सहभागिले जातीय भेद्भाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भएपनि पूर्ण रुपमा व्यवहारमा लागू नभएको अवस्थामा पछिल्लो समय जातिय विभेदको स्वरुप फेरिएको बताएका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थीक सहयोगमा महिला जागरण केन्द्र दैलेखद्धारा आयोजित जातिय विभेदको अवस्था, समिक्षा र अन्तरक्रियामा बोल्दै दलित समुदायका अगुवा खगिराम सुनारले अहिले पनि घुमाउरा शैलीमा विभेद हुने गरेको बताउनुभयो । ‘विभेदको स्वरुप फेरिएको छ,’ सुनारले भन्नुभयो ‘जातिय विभेदको सवाल पाठ्यक्रममा समावेश गर्नुपर्छ ।’ विद्यार्थीहरुमा जागरुक ल्याए मात्रै विभेद अन्य हुने उहाँको भनाई छ ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले गरिबी, अशिक्षा र अज्ञानताले विभेद न्यूनिकरण नभएको स्विकार गर्नुभयो । उहाँले स्थानीय तहमा दलित समुदायको पहुँच पुगेको भएपनि कानुनी व्यवस्थाबारे जानकार नहुँदा दलित महिला सदस्यहरु अलमलमा परेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले पूजिँवादी युगमा आर्थीक रुपमा सम्पन्न वर्गले विपन्न वर्गलाई विभेद गरिरहेको टिप्पणी गर्नुभयो ।
महिला जागरण केन्द्र दैलेखका अध्यक्ष सिता कुमारी रानाले जातीय विभेद अन्त्य गर्न बनेका कानुनको पालना गर्न गराउन सरोकारवाला निकायलाई दबाब दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भेद्भाव तथा छुवाछुत अन्त्य गर्न बनेका कानुनी व्यवस्थाबारे आम नागरिकलाई जानकारी दिनसके विभेद अन्य हुने बताउनुभयो ।
दैलेखका प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले जातिय विभेदका घटनामा दोषिलाई कानुनी कार्बाहीको लागि प्रतिबद्ध रहेको बताउनुभयो । उपप्राध्यापक डा. कृपाराम विश्वकर्माले जातिय विभेद संस्कृतिको नाममा हिंसा भएको बताउनुभयो । सोहि अबसरमा सरकारी वकील द्रोणदत्त पौडेलले जातिय विभेदका घटनामा कानुनी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमका सहभागिहरुले पानी छोएको नाउँमा होस् या गुन्द्री छोएको नाउँमा अहिले पनि गाउँघरमा दलित समुदाय विभेदबाट प्रताडित हुनु बताएका छन् । शिक्षीत वर्गबाट गरिने विभेदको स्वरुप सामाजिक संजालमा देखिन सहभागि सरोकारवालाहरुको भनाई थियो ।

प्रतिक्रिया