पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


सुर्खेत – शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि जुम्ला–कालिकोट हुँदै सुर्खेत–नेपालगञ्ज आउने र जाने सयौं यात्रुहरु बाटोमै अलपत्र परेका छन्।
कालिकोट सडक खण्डको सुनार खोला, पिली, तेस्रो बजार लगायतका विभिन्न ठाउँमा पहिरो गएको छ। सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख इन्जिनियर श्रवणकुमार महत्तराका अनुसार रातिदेखि आएको पहिरो जेसीबी, प्रहरी र स्थानीयहरुले पन्छाइ रहेका छन्। तर, दुईवटा जेसीबी प्रयोग गर्दा पनि पिलीमा आएको पहिरो पन्छाउन निकै कठिनाई भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए। ‘कालिकोटमा अन्य ठाउँको खासै ठूलो पहिरो छैन।’ डिएसपी शर्माले भने ‘पिलीको पहिरो पन्छाउन आज दिनभरी लाग्न सक्छ।’
यता राजमार्गको दैलेख सडक खण्डमा पनि रतिखोला, भुवाखोला, गगनेखोला लगायतका दर्जनबढी ठाउँमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। बिहानैदेखि प्रहरी र स्थानीयले पहिरो पन्छाउने काम गरिरहेको प्रहरी भनाई छ।
वर्खा लागेसँगै कर्णाली राजमार्गको दैलेख र कालिकोट सडक खण्डमा वर्षेनी पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ । राजमार्गमा आउने पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाले आजदेखि नै दुईवटा जेसिबी तयारी अवस्थामा राखेको छ। निमित्त प्रमुख महत्तराका अनुसार मंसिर महिनासम्म एउटा जेसीबी गगनखोला र अर्काे कालिकोट र जुम्लाको सिमानामा राखिने छ।
प्रतिक्रिया