सिल्पी समाज दैलेखले खण्डन

सिल्पी समाज दैलेखले खण्डन

नारायण नगरपालिकाका गतिविधिप्रति असन्तुष्ट केही सदस्यहरुले साउन ३ गते दैलेख सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलन सिल्पी समाजले बोलाइएको भन्ने भ्रम छरिएकोप्रति सिल्पी समाज दैलेखले खण्डन गरेको छ ।

साउन ११ गते केही सञ्चार माध्यममा समाचार प्रकाशन भएको सन्दर्भमा सिल्पी समाजको कार्यक्रम छ आउनु भनी बोलाई पत्रकार सम्मेलनमा नगर सदस्यहरुलाई सहभागी गराएको भनी लगाइएको आरोपप्रति संस्थाको ध्यानाकर्षण भएको भन्दै संस्थाका अध्यक्ष बखतबहादुर नेपालीले आज एक विज्ञप्ती जारी गर्नुभएको छ ।


साउन ११ गते केही सञ्चार माध्यममा नारायण नगरपालिका कार्यपालिकाका सदस्य जगत सार्कीको हवाला दिंदै छापिएको समाचार र दैलेखका दुई वटा रेडियोबाट प्रसारण भएको नगर प्रमुख रत्नबहादुर खड्काको अन्तरवार्तामा ‘सिल्पी समाजको कार्यक्रम छ आउनू’ भनी बोलाएर गरिएको पत्रकार सम्मेलनमा नगरपालिकाका गतिविधिप्रति असन्तुष्टी बारे सदस्यहरुले बोलेको भन्ने भनाईको खण्डन गरिएको छ ।
निर्वाचित जनप्रतिनिधिहरु आफैले डेढ वर्ष अघि गठन गरेको नारायण नगरपालिका सदस्य हकहित संरक्षण समितिले आफ्नै लेटरप्याडमा वडा नं. १ का वडा सदस्य रमेशकुमार केसीले पत्रकारहरुलाई लिखित निमन्त्रणा गरेको पुष्ट्याईं छँदाछँदै सिल्पी समाजले बोलाएको भन्नू दलित समुदाय र संस्थाप्रति हेपाहको दृष्टि झल्किएको भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनको अध्यक्षता नारायण नगरपालिका सदस्य हकहित संरक्षण समितिका अध्यक्ष एवं नारायण नगरपालिका–८ का वडासदस्य भूपाल थापाको अध्यक्षतामा कार्यक्रम हुनु, मुख्य प्रस्तोता वडा नं. १ का वडासदस्य रमेशकुमार केसी रहनुभएको अवस्थामा दलित समुुदायलाई हेप्नको यो हत्कण्डा अपनाइएको टिप्पणी गरिएको छ ।
पत्रकार सम्मेलनमा सहभागी नारायण नगरपालिकाका कार्यपालिकाका सदस्य जगत सार्की, वडा नं. ३ का वडासदस्य हर्कबहादुर नेपाली लगायतका दलित समुदायबाट प्रतिनिधित्व गर्नुभएका जनप्रतिनिधिहरुलाई मात्र कमजोर बनाउन वा विभिन्न बाहनामा भूमिका विहीन बनाउन यस्तो हत्कण्डा अपनाइएको हुन सक्ने शंका उब्जाइएको छ ।
दलित वर्गको हकमा काम गर्न स्थापना भएको सिल्पी समाजले निर्वाचित स्थानीय सरकारका काम विरुद्ध नगरपालिकाका सदस्यहरुलाई उचाल्न पत्रकार सम्मेलन गराएको भन्नू हास्यास्पद भन्दै अप्रमाणि कुरामा भ्रम नछर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया