झलनाथ खनाल र सत्यमोहन जोशीद्वारा ‘मान्नमी’ विमोचन

झलनाथ खनाल र सत्यमोहन जोशीद्वारा ‘मान्नमी’ विमोचन

ज्वाला सन्देश, काठमाडौं ।
कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल ‘मान्नमी’ विमोचन गरिएको छ । कर्णाली प्रदेशको विकाससम्बन्धी विभिन्न खोजमूलक सामग्री समेटिएको जर्नलको शनिवार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले विमोचन गर्नु भएको हो ।
कार्यक्रमका पूर्व प्रधानमन्त्री भलनाथ खनालले ‘मान्नमी’ कर्णाली प्रदेश र त्यस क्षेत्रका जनप्रतिनिधिहरूका लागि पठनिय र सङ्ग्रहणिय दस्तावेज बनेको बताउनुभयो । ‘कर्णालीको उदय देखीको इतिहास, भूगोल, संस्कृति, विकासका पाटाहरू, वर्तमान अवस्था र सम्भाव्यताहरू समेटिएको ‘मान्नमी’ ले कर्णाली मात्र होइन समग्र देश बोकेको छ,’ उहाँले भन्नुभयो । समाजवाद उन्मुख नयाँ संविधानले परिवर्तनका सम्पूर्ण ढोकाहरू खोलिदिएको भन्दै पूर्व प्रधानमन्त्री खनालले समानुपापतिक अधिकार र विकासले कर्णालीलाई समटेको धारणा राख्नुभयो । उहाँले प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिले जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्न सके प्राकृतिक स्रोत साधनले भरिपूर्ण हिजोको समृद्ध कर्णाली फेरी पनि समृद्ध हुनेमा दुइमत नरहेको बताउनु भयो ।
वरिष्ठ संस्कृतिविद् वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले २०२७ सालमा ५ जना विज्ञको टोलिसहित नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिंजा खोला पुगेको स्मरण गर्दै त्यहाँको भूगोल, अर्थतन्त्र, भाषा, इतिहास, लोक संस्कृति समेटेर ५ वटा पुस्तक प्रकाशन गरिएको बताउनुभयो । देशलाई मेचिदेखी महाकाली जोडेर एक ढिक्का बनाउन संस्कृति र इतिहास अध्ययन अनुसन्धान जरुरी रहेको सन्दर्भमा एउटा संग्रहणिय र पठनिय जर्नल ‘मान्नमी’ को प्रकाशन भएकोमा खुशी व्यक्त गर्नुभयो ।
पूर्व गृहमन्त्री जनार्दन शर्माले ‘मान्नमी’ का सबै रचनाहरू पढ्दा जनप्रतिनिधिलाई कर्णाली विकासको मार्गचित्र तयार गर्न आवश्यक दस्तावेज तयार भएको बताउनुभयो । ‘मैले कर्णालीलाई सुनको डल्लो हो भन्ने गरेको छु, त्यसलाई गहना बनाउने कालिगड हामी नेतृत्व पङ्ति जिम्मेवार र गम्भिर भएर लाग्ने हो भने अबको दश वर्षमा कर्णालीलाई मलुककै सबैभन्दा धनी प्रदेश बनाउन सम्भव छ,’ उहाँले भन्नुभयो ।

पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले अझै पनि कर्णालीको मूख्य समस्या बाटोको पहुँच नै भएको दावी गर्नुभयो । उहाँले बाटोघाटोको सहज पहँुच र विद्युतको आपुर्ती गर्न सकेको खण्डमा कर्णालीको विकासले गति लिने बताउनुभयो । पूर्व मन्त्री शाहीले कर्णालीको विकास भयो भने मुलुककै विकास हुन्छ भन्ने सोच राखी संघ, प्रदेश र स्थानीय सरकारले योजनावद्ध रूपमा कार्य गर्नु पर्नेमा जोड दिनुभयो ।
जर्नलको समालोचना गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले गैह्र सरकारी संस्थाहरू धेरै फेशनवल भएको र व्यवहारमा उनीहरूको योगदान शुन्यप्राय रहेको अवस्थामा रूपान्तरण नेपालले अनुकरणिय कार्य गरेको बताउनुभयो । ‘मान्नमी पुस्तकालयमा राख्नु पर्ने मात्र होइन कर्णालीका जन प्रतिनिधिहरूले विकासका योजना बनाउँदा अगाडि राखेर मनन गर्नुपर्ने दस्तावेज बनेको छ,’ उहाँले भन्नुभयो ।
जर्नलको समालोचना गर्दै प्रा. डा. नन्द बहादुर सिंहले सग्रहित अधिकांश सामग्री स्पष्ट भएपनि कतिपय लेखक पाठकलाई बुझाउने सवालमा चुक्नु भएको धारणा राख्नुभयो । कर्णालीको इतिहासलाई जोड्दै प्राध्यापक सिंहले भन्नुभयो, ‘प्राचिन कालमा जुम्लाको अकाल सहर देशकै सबैभन्दा ठुलो सहर थियो भने दैलखको दुल्लु दोस्रो ठुलो सहर थियो । त्यस्तो समृद्धशाली कर्णाली कसरी भताभुङ्ग भयो ? यसको गम्भिर अध्ययनको सुरुवात ‘मान्नमी’ले गरेको छ ।’
रूपान्तरण नेपालका अध्यक्ष एवम् ‘मान्नमी’ का सम्पादक मोहन शाहीले कर्णाली प्रदेशलाई नजिकबाट बुझ्न चाहने जोकसैका लागि ‘मान्नमी’ गतिलो सन्दर्भ सामग्री बन्ने आशा व्यक्त गर्नुभयो । ‘साङ्लोको शक्ति त्यसमा रहेको सबैभन्दा कमजोर कडीले निर्धारण गर्दछ र चुडाई त्यहिँबाट सुरु हुन्छ’ भन्ने वरिष्ठ योजनाविद् डा. हर्क गुरुङको भनाई सम्झँदै सम्पादक शाहीले प्राकृतिक स्रोत साधनले धनी भएर पनि विकासका सुचकमा सबैभन्दा पछाडी परेको कर्णालीबारे राज्य र सरोकारवालाको ध्यानाकर्षण गर्न कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्कका रूपमा ‘मान्नमी’ प्रकाशन गरिएको बताउनुभयो ।

प्रतिक्रिया