सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भन्दै कुटपिट

सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भन्दै  कुटपिट

मुद्दा मेलमिलाप गराउने प्रयत्न

दैलेख साउन १४, कानूतः सरकारवादी मुद्दा मेलमिलाप गराउन मिल्दैन । फौजदारी अपराधका घटनामा न्याय दिलाउन निःशुल्क कानूनी सहायता दिने र सरकार आफैले पीडितको पक्षमा मुद्दाको लड्ने कानूनी व्यवस्था भएकोले फौजदारी मुद्दालाई सरकारवादी बनाइएको हो ।
चोरी डकैती, लुटपात, अपहरण, हत्या, बलात्कार, जातीय विभेद, बहुविवाह, बोक्सीको आरोप लगायतका महिला हिंसाका घटनालाई सरकारवादी मुद्दामा सूचीकृत गरिएको छ । सरकारवादी मुद्दामा राज्यका सबै पक्षले सहयोग गर्नुपर्छ तर दैलेखमा जनप्रतिनिधिहरुले साउन १४ गते सरकारवादी मुद्दा मेलमिलाप गराउने प्रयत्न गरेका छन् ।
नारायण नगरपालिका–१० भवानीकी ३५ वर्षीया लक्षिमा कामीलाई सोहीकी २४ वर्षीया राजकुमारी न्यौपानेले गएको वैशाख ११ गते सार्वजनिक धारामा पानी भरेको ड्रम छोइएको भन्दै हसिया प्रहार गरी सख्त घाइते बनाएको घटनामा जनप्रतिनिधि र पार्टी नेताहरुले मेलमिलाप जान दवाव दिएको पीडित पक्षले गुनासो गरेको छ ।
घटनाको लगतै उपचारपछि जातीय विभेद मुद्दा दर्ता गराउन जाँदा नै नारायण नगरपालिका–१० का वडाध्यक्ष लोकबहादुर थापाले जाहेरी रोक्न बल गरेका थिए । जाहेरी दर्ता भए लगतै फरार भएकी आरोपित राजकुमारीलाई ‘कैद हुने अवस्था नगराइदेऊ बरु खर्च तिराइदिउँला’ भनी मिल्नुपर्छ भनी दवाव दिएको पीडितको देउरानी पवित्रा सुनारले बताइन् ।
आरोपित न्यौपाने फरार रहेकोले प्रहरीले छिटो अदालतमा मुद्दा बुझाउने तयारी गरेको अवस्थामा घटनाका साक्षीलाई जिल्ला प्रहरी कार्यालयले लिने बयानमा विभेद भएको होइन भनीदिनू भनी वडाध्यक्ष थापा र नेकपाका जिल्ला नेता लोमन शर्माले ‘समाजमा मिलेर बस्नुपर्छ सजिलो पारेर बयान गर’ भनेको पीडित लक्षिमा कामीले भनिन् ।
‘सरकारवादी मुद्दामा मिल्न भन्नुभएको हो ?’ भनेर वडाध्यक्ष थापा र नेकपाका जिल्ला नेता शर्मालाई सोध्दा राजकुमारीका आफन्तले एक पटक पीडितसंग कुरा गरिदिनू प¥यो भनेर आग्रह गरेको कारण बसालेर छलफल गराएको स्वीकार गरे । ‘प्रयास गरौं न त भनेर सोधेको हो’ शर्माले भने । वडाध्यक्ष थापाले पीडित लक्षिमालाई ५ हजार पर्ने सोलार वडा कार्यालयले निःशुल्क दिने सल्लाह भएको सुनाए ।
घटनामा हसियाले टाउको, छाति, ढाडमा कोप्नुसंगै पाइटाले हान्दा भएको घाउको कारण बेहोस अवस्थामा जिल्ला अस्पताल पु¥याएपछि त्यहाँ सम्भव नभएपछि रिफर गराएकोले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याई उपचार गरिएको थियो ।
पीडित महिला अत्यन्त गरिव भएको कारण आफन्तहरुले गाउँबाट ऋण काडेर उपचारमा गराएका थिए । उनको उपचारमा अहिलेसम्म ५१ हजार भन्दा बढी खर्च भइसकेको लक्षिमाका देउरानी पवित्रा सुनारले बताइन् । आरोपित राजकुमारी न्यौपाने फरार रहेकोले प्रहरीले अनुसन्धान सकेर छिट्टै अदालतमा मुद्दा बुझाउने तयारी गरिरहेको छ ।
प्रहरीमा हाजिर गराउँदा अनुसन्धानका लागि थुन्ने भएको कारण प्रहरीलाई नै मुद्दा अदालत पठाइदिन लगाएर आरोपित राजकुमारीलाई अदालतमा हाजिर गराउने अनि त्यहाँ धरौटीमा छुट्न सजिलो पर्ने ठानेर मिलाउने खोज्ने नेता र जनप्रतिनिधिहरुले प्रहरीमा गरिने साक्षी र जाहेरवालीको बयान सुधार्न लगाउने प्रयत्न गरेका हुन् ।

प्रतिक्रिया