महिला र बालबालिकाको सवालमा गम्भिर हुन आग्रह

महिला र बालबालिकाको सवालमा गम्भिर हुन आग्रह

ज्वाला सन्देश
दैलेख साउन १४ गते ।

दैलेखमा क्रियाशील सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाले महिला र बालबालिकाको सवालमा गम्भिर हुनु आग्रह गर्नुभएको छ । सोसेकद्धारा आयोजित बार्षिक प्रगति समिक्षा तथा रणनैतिक योजना तर्जुमा गोष्ठिको समापन कार्यक्रममा अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो । ‘जोखिममा परेका बालबालिका र महिलाको सवालमा सधैं संवेदनशिल हुनुहोस्,’ अध्यक्ष थापाले भन्नुभयो ‘सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सरकारलाई नीति नियम बनाउन र बनेका नीति नियम कार्यान्वयनमा सहजिकरण गरिरहेको छ ।’
उहाँले सोसेकमा कार्यरत कर्मचारीहरुलाई बाल संरक्षण नीति अनुसारको व्यवहार गर्न निर्देशन दिनुभयो । अध्यक्ष थापाले संस्थाले लिएको लक्ष्य,उद्देश्य र मार्गदर्शन अनुसार काम गर्न कर्मचारीहरुलाई आग्रह गर्दै महिला हिंसा, जातीय विभेद, छाउपडी प्रथा र बालविवाह रोकथामको क्षेत्रमा परियोजना विना पनि संस्थाले काम गर्दै आएको बताउनुभयो ।

निवर्तमान अध्यक्ष मञ्जु कुमारी खड्काले संस्थाको चुनौतीपूर्ण विगतको सम्झना गर्दै संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउने गतिवीधि संचालन गर्दै आएको बताइन् । उपाध्यक्ष टिकादेवी जैसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) का महासचिव दुर्गा श्रेष्ठ, कोषाध्यक्ष तारा खड्का, राउटे युवा शिवराज शाहीले सामाजिक सेवा केन्द्र (सोसेक) ले गरिरहेका सामाजिक काम र यसको प्रभावका विषयमा बोल्नुभएको थियो ।
गत आर्थिक बर्ष २०७५÷०७६ मा विभिन्न विकास साझेदार निकायहरुसँगको साझेदारीमा कर्णालीका दैलेख, कालिकोट र सुदुरपश्चिमको अछाम जिल्लामा सञ्चालन भएको कार्यक्रम र परियोजना सहित संस्थाको आन्तरिक कोष मार्फत संचालित क्रियाकलापहरुबारे बार्षिक समिक्षा गर्न आयोजित गोष्ठिमा संस्थाद्धारा संचालन भएका विभिन्न कार्यक्रमहरुको जानकारी एवं प्रगति चुनौतीबारे छलफल गरिएको उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गोष्ठिले परियोजनाहरुको प्राथमिकताको बारेमा स्पष्ट जानकारी गराउनुका साथै व्यापक छलफल गरिएको छ ।
यस्तै संस्थाद्धारा संचालित विभिन्न परियोजनाको बारेमा समान बुझाई र धारणाको विकास गराएको र विभिन्न परियोजना तथा कार्यक्रममा कार्यरत कर्मचारी विच आपसी अनुभव आदान प्रदान भएको उप–कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । विकास साझेदार तथा सहयोगी निकायहरुसँगको साझेदारी र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख मार्फत संचालन भएका सहयात्रा दोस्रो परियोजना, आधार परियोजना, महिला तथा बालबालिका केन्द्र, राउटे परियोजना, एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम, अधिकारमुखि जिविकोपार्जन सुधार परियोजना, साकार परियोजना, आशा आयोजनाकोको प्रस्तुतीकरण गरिएको थियो । १४ औं वार्षिक समीक्षा र रणनीतिक योजना निर्माण सम्वन्धी २ दिने गोष्ठीमा मर्यादित महिनावारी र बालबिवाहको सवालमा छलफल समेत गरिएको थियो ।

प्रतिक्रिया