जीवनस्तर उठाउन आर्थिक उपार्जनका कार्यक्रम ल्याउनुपर्नेमा जोड

जीवनस्तर उठाउन आर्थिक उपार्जनका कार्यक्रम ल्याउनुपर्नेमा जोड

दैलेख भदाै ६ गते ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले पिछडिएको जातजाति र समुदायको जीवनस्तर उठाउन आर्थिक उपार्जनका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । दलित नागरिक समाजले विहीवार दैलेखमा कार्यरत दलित कर्मचारीहरुको स्वागत र सरुवा भएर जान लागेका कर्मचारीहरुको विदाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रमुख थापाले संविधानले दिएको हक अधिकार प्राप्तीका लागि दलित समुदायका युवाहरुले प्रतिस्पर्धा जित्न सक्ने क्षमता विकास गर्न सुझाव दिए । उनले चार महिना अघि नारायण नगरपालिका–१० भवानीमा भएको छुवाछूतको घटना सन्दर्भमा केही जिम्मेवार व्यक्तिले घटना होस्टाइल गराउने प्रयत्न गर्नु गलत कार्य भएको टिप्पणी गरे ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट सरुवा भई कञ्चनपुर जान लागेका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले दलित नागरिक समाजको विदाई सम्मान ग्रहण गरेपछि जातीय विभेद, महिला हिंसा लगायतका समस्याका विषयमा आफूले गरेको कार्य एक राष्ट्रसेवकको दायित्व निर्वाह गरेको प्रष्ट्याए ।
प्रहरी नायव उपरीक्षक पोखरेलले प्रहरीलाई दिइएको सूचना र सहयोगका कारण जिल्लाका शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकेको जनाउदै दैलेखमा सिकेको ज्ञान, सीप र सहकार्य अभ्यास जागिरे जीवनमा महत्वपूर्ण सिकाई रहेको बताए ।
कार्यक्रममा सिल्पी समाजका संयोजक बखत नेपालीले कानूनी हिसावले रोजगारीमा दिइदै आएको आरक्षण कटौती भएकोले अव खुला तर्फ समेत जित्न सक्ने क्षमता विकास गर्न आवश्यकता औल्याए । कार्यक्रममा दलित अगुवा मोहन सुनारले रोजगारीमा पहुँच बृद्धि हुँदै आएबाट जातीय विभेदमा समेत कमी आएको सुनाए ।
त्यसबखत प्रहरी नायव उपरीक्षक ठाकुर, शिक्षा विकास तथा समन्वय इकाई दैलेखबाट सुर्खेतको भेरीगंगा नगरपालिकामा सरुवा भएका प्रा.स. टेकपाल नेपालीलाई विदाई गरिएको थियो भने नेपाल टेलिकमका कार्यालय प्रमुख जीतबहादुर त्यागी, स्वास्थ्य कार्यालयका लेखाअधिकृत दीपक नेपाली, सुआहाराका कार्यक्रम अधिकृत भक्त नेपाली, पूर्वाञ्चलबाट निमावि शिक्षक पदमा सिफारिस भएका शेरबहादुर बिकलाई स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका सचिव लक्ष्मीकुमार बिक, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका जिल्ला सदस्य ललित सुनार, दलित अगुवाहरु हर्कबहादुर नेपाली, सविना बिक, जगत सार्की, मनकुमारी सुनार, पत्रकारहरु अमर सुनार लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया