लोकतन्त्र खतरामा : सभापति देउवा

लोकतन्त्र खतरामा : सभापति देउवा

सुर्खेत भदौ ६ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिस्टलाई सिध्याउनुपर्ने बताएका छन् । शुक्रवार वीरेन्द्रनगरमा महाधिवेशन प्रतिनिधिको लागि प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले ओली सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताए ।

‘विगतमा हामीले राणा फाल्यौं, पञ्चायत ढाल्यौं, राजा फाल्यौं,’ उनले भने, ‘अहिले लोकतन्त्र खतरामा परेको छ । हामी सबै मिलेर कम्युनिस्टलाई सिध्याउनुपर्ने बेला आएको छ । अन्तिम धक्का दिन जरुरी छ ।’ सभापति देउवाले कम्युनिस्ट सरकारले देशमा लोकतन्त्रलाई समाप्त पार्दै साम्यवादी व्यवस्था ल्याउने षड्यन्त्र गरेको आरोप लगाए ।प्रजातन्त्रको लागि बारम्बार जेल जान नपर्ने गरी लडाइँ लड्नुपर्ने उनले बताए । सरकारले लेख्ने अधिकार खोसिरहेको, प्रेस स्वतन्त्रता सम्बन्धी कडा विधेयक ल्याइरहेको बताउँदै आन्दोलन गर्न तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

नेपालमा ओली सरकार आइसकेपछि भ्रष्टाचार बढेको, उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाइएको उनले आरोप लगाए ।
काम गर्न नदिने प्रचलन पार्टीभित्र बढ्दै गएको समेत उनले बताए । ‘निर्वाचनमा जितेको व्यक्तिलाई कम्तीमा निर्धक्क काम गर्ने वातावरण हुनुपर्छ नि १’ कांग्रेसभित्रको एकताबारे उनले भने, ‘चुनावमा हारेकालाई कारवाही गर्न दिइएको छैन । कार्यसम्पादन समिति बनाउन सकिएको छैन । नाम दिनुस् भन्दा दिन सकेका छैनन । अब म एक्लैले भएपनि जिम्मेवारी दिइछाड्छु ।’

उनले पार्टीभित्र एकता नभएका कारण चुनाव हारिएको बताए । ‘हिजो नेकपा माओवादी र एमाले २ पार्टी थिए, एक भए,’ उनले भने, ‘तर हामी एकै पार्टी छौं तर २ पार्टी जस्ता भयौं र हामीले चुनाव हारेका हौं ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापती विमलेन्द्र निधिले ओलीले सिंगापुरबाट सरकार चलाउन खोजिएको आरोप लगाए । ‘कार्यसम्पादन नियमावली उहाँले संशोधन गर्नुभएको छ । सायद सरकार सिंगापुरबाटै चलाउने मन भएको हुन सक्ला,’ उनले भने । लोकतान्त्रिक प्रणाली सिध्याउने खेलमा सरकार लागिरहेको उनले बताए । अब गाउँ जान र संगठन सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले चुनाव हारेको मातम नमनाउन आग्रह गरे ।

महामन्त्री डा. शशांक कोइरालाले पार्टी एक नभएसम्म कम्युनिस्टलाई ठेगान लगाउन नसकिने बताए । केन्द्रमा गुटगत राजनीतिको अन्त्य आवश्यक रहेको उनले बताए ।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्ट सरकार दिन प्रतिदिन गलत बाटोमा गइरहेको र त्यसलाई लगाम लगाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया