मजदूर बोकेको ट्राक्टर दुर्घटना, १८ घाइते

मजदूर बोकेको ट्राक्टर दुर्घटना, १८ घाइते

भदौ १२, २०७६ – , दैलेख – निर्माणाधीन मध्यपहाडी राजमार्गको लोहोरे–बेस्तडा खण्ड मौरेसालमा बिहीवार ट्रयाक्टर दुर्घटना हुँदा एक जना महिला सहित १८ जना घाइते भएका छन् । दुर्घटनास्थल भगवतीमाई गाउँपालिका–१ पगनाथमा पर्दछ ।

से १ त १६५२ नम्वर ट्रयाक्टर सडकमै पल्टिंदा ट्रलीमा राखिएका मजदूरहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
सडक निर्माण गर्ने गजूरमुखी कम्पनीको सडक निर्माण गर्ने मजदूरहरुलाई मौरेसालबाट बेस्तडा बजार तर्फ लैजाँदै गर्दा ट्रलीको लोडपीन भाँचिएको कारण ट्रली मात्र खसेपछि मजदूरहरु घाइते भएका बताइएको छ ।
घाइते १८ मध्ये ६ जनालाई बेस्तडाको स्थानी मेडिकलमा, बढी चोट लागेका १२ जना दैलेख जिल्ला अस्पतालमा ल्याइएकोमा ती मध्ये ३ जना गम्भीर घाइतेहरुलाई थप उपचारका लागि सुर्खेत पठाइएको जानकारी दिइएको छ ।
सुर्खेत पठाइएका गम्भीर घाइतेहरु जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का ३० वर्षीय डिलबहादुर नाथको आँखा र ढाँडमा, सोही ठाउँका ४० वर्षीय गोरबहादुर सिंह आँखा र टाउकोमा र दैलेखको भगवतीमाई गाउँपालिका–४ का ७० वर्षीय सेते थापालाई छाति र निधारमा कडा चोट लागेको छ ।
दुर्घटना लगतै बेस्तडा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि पठाउनुसंगै दुर्घटना गराउने चालक नौमूले गाउँपालिका–५ का २५ वर्षीय रघु बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक ओलीले बताउनुभयो ।

प्रतिक्रिया