गौहत्या घटनाः पाँचवटा ट्रक चालकसहित नियन्त्रणमा

गौहत्या घटनाः पाँचवटा ट्रक चालकसहित नियन्त्रणमा

सुर्खेत, १३ भदौ ।
नेपालगञ्जबाट दैलेखको शीरस्थान लैजाने क्रममा बिहीबार राति बीच बाटोमै गाई फालेर फर्किएका ट्रक नियन्त्रणमा लिइएको छ । सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगरस्थित कटकुवा क्षेत्रमा भीरबाट गाई फालेर नेपालगञ्ज फर्कँदै गरेका पाँच वटा ट्रकलाई बबईबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको कान्जीहाउसमा रहेका गाई दैलेख लैजाने क्रममा बीच बाटोमै ट्रकबाट खसालिएको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगरको कटकुवामा झन्डै २ सयको संख्यामा बेवारिसे गाई भेटिएका छन् । तीमध्ये २४ गाई भीरमा मृत अवस्थामा भेटिएका छन् भने ३० भन्दा बढी घाइते छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले कानुनी प्रक्रिया पूरा गरी ल्याइएका गाई बीच बाटोमै किन खसालिए भन्नेबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार ८ वटा ट्रकमा गाई ल्याइएका थिए । तीमध्ये ५ वटा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएको छ ।

प्रहरीले मृतक गाईको तथ्याङ्क संकलन गरिरहेको छ । करिव तीन किलोमिटरको दूरीमा गाईहरु छन् । भिरमा खसालेको अवस्थामा पनि मृतक चौपायाहरु फेला परेका छन् । प्रहरीले मुचुल्का उठाइरहेकाले मृतक चौपायाहरुको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

गाई कसरी मरेका हुन् भन्नेबारे पशु चिकित्सकले अनुसन्धान सुरू गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले मरेका गाईको बाहिरी र भित्री पोस्टमार्टम गरिने बताए । चोटपटकले मरेका हुन् वा कुनै रोगले मरेका हुन् भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने उनको भनाइ छ । ‘बाहिरबाट हेर्दा मरेका गाईमा चोटपटक लागेको देखिन्छ,’ उनले भने, ‘मृत्युको खास कारण रिपोर्ट हेरेपछि मात्रै थाहा होला ।’ स्थानीयले भने गाई ट्रकबाट भीरमा खसाएर मारेको हुनसक्ने आरोप लगाएका छन् । सामुहिक गौहत्या गरिएको आशंका उनीहरूको छ । स्थानीय कृष्णप्रसाद खरेलका अनुसार गाई गाडीबाट सिधै भिरमा खसालेको पाइएको छ ।

प्रतिक्रिया