मौलिक तीजको मजा छुट्टै

मौलिक तीजको मजा छुट्टै

अमर सुनार
दैलेख –
शर्मिला चौधरी मादल बजाउदै थिइन्, उनी आफू मादल बजाउदै आमा कमला नेपालीसंग ताल मिलाउदै गाउँदै थिइन् । गीतको बोल थियो ‘तीज रहर आयो बरिलै….’ शर्मिला र उनकी आमाले गाएको अर्को गीत थियो ‘सौता माथि जान्न जान्न बरिलै…..’
सौता माथि जान्न बरिलै गीत पहिल्यैदेखि गाइदै आएको गीत हो । एक छोरा र एक छोरी साथमै राखेर मादल बजाउने शर्मिला नारायण नगरपालिका–८ ढकानको दलित परिवारकी छोरी हुन्, मजदूरी गर्ने बर्दियाका चौधरीसंग विवाह गरेपछि चौधरी लेख्न थालेकी हुन् ।
शर्मिला र कमला गीत मादलको तालमा नारायण नगरपालिका–७ बडाउतकी भीमकुमारी चन्द र किमुगाउँकी कृष्णा खड्काको धोती ब्लाउजमा छमछमी नाँचेको नाँच पनि दर्शकहरुलाई आकर्षण गरिरहेको थियो । त्यसैले त महिलाहरु सबै उत्साहका साथ ताली बजाउदै थिए ।
नारायण नगरपालिका–७ को किमुगाउँको स्वास्थ्य चौकी प्रांगणमा ऋषि पञ्चमीको अवसर पारेर नारायण नगरपालिकाको सहयोग र वेलासपुर साना किसान सहकारीको आयोजना गरेको हरितालिका तीज बिशेष कार्यक्रममा वडाका महिला सदस्यहरु मन्धरा दमाई, निर्मला खड्का,सहकारीका अध्यक्ष दुर्गा कार्की लगायतका अगुवा महिलाहरु पनि नाँच्ने गाउँने पालो पु¥याएका थिए ।

मौलिक रुपमा तीज कार्यक्रम लगाएकोमा वडा कार्यालय र सहकारी संस्थालाई स्थानीय बिष्णुकुमारी खड्काले खुशी व्यक्त गरिन् । एम्प्लीफायरमा बजाएको तडक–भडक भन्दा यस्तो आफैले गाउँने, बजाउने गर्नू संस्कृतिको जगेर्ना पनि हुने नारायण क्याम्पसमा बीएड दोश्रो सेमेष्टरकी छात्रा खड्काले भनिन् ।
वडा नं. ७ को कार्यालयले बिजौरामा प्रतियोगिता आयोजना गरेको र यहाँका महिलालाई पायक पर्ने गरी किमुगाउँमा महिलाहरुलाई दरखाने कार्यक्रम पनि जुटाएका थिए । तीज विशेष कार्यक्रम पनि संगै जोडेको कारण जिल्ला प्रहरी कार्यालय आयोजक रहेको मानव बेचबिखन बिरुद्धको अभिमुखीकरण कार्यक्रम छोटो बनाइएको थियो ।

मानव बेचबिखन बिरुद्धको १३ औं राष्ट्रिय दिवस मूल समितिका संयोजक नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले चेलीबेटी बेचबिखन समस्या न्यूनीकरण गर्न महिला आफै र समुदायको चेतना स्तर उठ्नुपर्ने बताए ।
आफू माथि हुन सक्ने शोषण वा असुरक्षा बिरुद्ध लड्न हरेक छोरीले शिक्षामा ध्यान दिनुपर्ने र समुदायको सचेतना बढाउन आर्थिक उपार्जनमा जुट्नुपर्ने नगरप्रमुख खड्काले टिप्पणी गरे । उनले भने ‘नगरबासीको जीवन स्तर उठाउन उन्नत कृषि र पशुपालनमा नगरपालिकाले लगानी बढाउन लागेको छ ।’
जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज हरिबहादुर ओलीले मानव बेचबिखन रोक्न प्रहरी एक्लो प्रयासले सम्भव नभएको भन्दै प्रहरीलाई समुदायले सूचना र समन्वयमा सहयोग गरे समाजमा शान्ति स्थापनामा सहयोग पुग्ने बताए ।
कार्यक्रममा प्रहरी निरीक्षक उपेन्द्रप्रसाद अर्यालले मानव बेचबिखन समस्याको कारण, समस्या न्यूनीकरणका लागि सामाजिक सचेतनाको आवश्यकता, त्यसका चुनौती र सम्भावित जोखिमबाट जोगिन महिलाहरुको सजगता सीप विषयमा अभिमुखीकरण गरेका थिए । कार्यक्रम नारायण नगरपालिका–७ का वडाध्यक्ष पूर्णबहादुर मल्लको अध्यक्षमा भएको थियो ।

प्रतिक्रिया