बालबालिकासँग पारासामाजिक कार्यकर्ता

बालबालिकासँग पारासामाजिक कार्यकर्ता

दैलेख असोज २ गते ।
गुराँस गाउँपालिका – ६ कि भावना रिजाल स्थानीय डम्बर विकको घरमा पुग्दा दुई भाईवहिनी विद्यालय छुट्टि पछि घर आएर कापी कलम समाईरहेका थिए । उनले सोधिन ‘तिम्रो कक्षामा आज के पढाई भयो ?’ भावनाको प्रश्नमा दुई भाईवहिनीले जवाफ दिए । कक्षा तीनमा अध्ययनरत आठ बर्षीय डम्बर विक र कक्षा ५ मा अध्ययनरत १० बर्षीय कौशिला बिक नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनटाकुरीमा अध्ययन गर्छन् । उनले बालबालिका र अभिभावकसँगै बसेर उनीहरु नियमित विद्यालय गए नगएको, अध्ययनमा कुनै समस्या भएको बारेमा छलफल गरिन् । त्यसैगरी अर्काे घरमा भेटघाट गर्न जानुपर्ने भएकाले बिदा माग्दै भनिन् ‘विद्यालय नियमित जानु है ’ फेरी कहिले आउनु हुन्छ नानी भन्दै डम्बरकी आमाले बिदाई गरिन् ।
भावना पारासामाजिक कार्यकर्ता हुन । उनको जिम्मेवारी जोखिममा रहेका बालबालिका जो विद्यालय जादैनन्, त्यस्ता बालबालिकालाई बिद्यालय जान सहयोग गर्नु हो । उनी हरेक महिना १० जना उच्च जोखिममा रहेका बालबालिकाको घरमा पुगेर उनीहरुको शैक्षिक अवस्थाका बारेमा बुझ्ने गर्छिन् ।
आर्थिक समस्या, पारिवारिक माया ममता र स्नेहका कारण विद्यालय बाहिर रहेका त्यस्ता जोखिमयुक्त बालबालिकाहरुको राहत तथा पुनस्र्थापनाका लागि वडा, गाउँपालिका र विकास साझेदार संस्थालाई प्रतिवेदन दिने र जानकारी गराउने उनको मुख्य जिम्मेवारी हो ।
दैनिकको भेटघाट र हेरचाहले गर्दा पारासामाजिक कार्यकर्ता प्रति जोखिममा रहेका बालबालिकाहरुको विश्वास बढ्दै गएको छ । उनीहरुले आफ्नो नजिकको अभिभावकका रुपमा पारासामाजिक कार्यकर्तालाई लिने गरेका छन् । घरधुरी भेटघाट, दैनिक हेरचाह र सहयोग गरेका कारण उनीहरुको विश्वास पारासामाजिक कार्यकर्ता प्रति बढ्दै गएको हो । जोखिममा रहेका बालबालिकाहरुको सेवा गर्न पाएकोमा खुसी लागेको भावना बताइन् ।
डम्बरका बुबा आईते विकको ५० वर्षकै उमेरमा निधन भयो । उनकी आमा वर्ष ४५ कि बृद्धि विकले घरपरिवार सम्हाल्दै आएकी थिईन् । उनका २२ बर्षीय छोरा पनि विगत चार वर्ष देखि वेपत्ता छन् । श्रीमानको मृत्यु र कमाउने उमेरको छोरा बेपत्ता भए पछि बृद्धिलाई दैनिक जीवन निर्वाहका लागि समस्या भयो । जसले गर्दा विद्यालय उमेर समूहका दुई भाईवहिनी विद्यालय शिक्षालाई निरन्तरता दिन सकिनन् । वडा बालसंरक्षण समितिले जोखिममा रहेका बालबालिकाको तथ्यांक संकलन गरेपछि उच्च जोखिममा रहेका बालबालिकाको नियमित हेरचाहका लागि पारासामाजिक कार्यकर्तालाई जिम्मेवारी तोकियो । बाल संरक्षण समितिको सहयोग र पारासामाजिक कार्यकर्ताको हेरचाहमा उनीहरु नियमित विद्यालय जाने गरे । बालबालिका सम्बन्धी समस्याहरुलाई उनीहरुको नजिक रहेर आफुमा भएको ज्ञान सीप र क्षमताको प्रयोग गरी समस्या समाधान गर्न पारासामाजिक कार्यकर्ताले पहल गर्ने वडाध्यक्ष हिम ओलीले बताउँछन् ।
गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत गाउँपालिकाका सबै वडाहरुमा पारासामाजिक कार्यकर्ताको व्यवस्था गरिएको छ । पारासामाजिक कार्यकर्ताले समुदायमा निभाएको भूमिकाप्रति खुसि व्यक्त गर्दै परियोजनाका बालअधिकार संयोजक निर्मल अधिकारीले भने ‘जोखिममा रहेका बालबालिकाहरुको जीवनस्तरमा सुधार ल्याउन पारासामाजिक कार्यकर्ताले सहयोग गरेका छन् ।’ पारासामाजिक कार्यकर्ताप्रति बालबालिकाहरुको विश्वासको सम्बन्धले उनीहरुको जीवस्तरमा परिवर्तन ल्याउन सहयोग गरेको अधिकारीको भनाई छ ।

प्रतिक्रिया