जनताका गुनासो सुन्नुहोस्


दैलेख – प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले साधन श्रोतले संभव भएसम्म जनतालाई सेवा सुविधा पुराउन प्रयत्न भइरहेको बताउनुभएको छ । दैलेख सदरमुकाममा आयोजित संविधान दिवस प्रवचन कार्यक्रममा उहाँले स्थानीय सरकारले जनताका गुनासो सुन्न आग्रह गर्नुभयो । ‘जीएमआरले सरकारसंगको सम्झौता अनुसार सक्छ काम गर्नुपर्छ सक्दैन भने छोड्नुपर्छ,’ उहाँले भन्नुभयो ।

पूर्व सहायक मन्त्री बिनोद शाहले संविधान साध्य नभई साधन मात्रै हो भन्दै पालनाकर्ताको कुशलताले प्रभावकारिता हुने बताउनुभयो । उहाँले संविधान अनुसार सेवा, सुविधा र पदप्रतिष्ठानमा पुगेर कालो दिवस मनाउनेहरुको क्रियाकलापलाई गाईजात्राको संज्ञा दिनुभयो ।
पूर्व सहायकमन्त्री संविधानले भोको मर्न परोस, स्वास्थ्य र शिक्षाको अधिकार अनि थुप्रै मौलिक हक व्यवस्था गरिएको विश्वकै समावेशी संविधान भएको प्रष्ट्याउनुभयो ।
संविधान दिवस जिल्लास्तरीय मूल समारोह समितिका अध्यक्ष जिसस प्रमुख प्रेमबहादुर थापाको अध्यक्ष्यतामा भएको थियो ।
कार्यक्रममा नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्का, दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, नेकपाका सचिव प्रेम कटुवाल, नेमकिपाका रत्नबहादुर श्रेष्ठ, राप्रपा प्रजातान्त्रिकका रामबहादुर थापा, राप्रपाका रणबहादुर सिंह लगायतले बोल्नु भएको थियो ।
संविधानका विशेषता विषयमा जिसस उपप्रमुख लक्ष्मीदेवी शाह, नेपाल वार एशोसियशनका अध्यक्ष यामराज थापा, दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमालले प्रकाश पार्नुभएको थियो ।
औपचारिक कार्यक्रम अघि गणेशचोकबाट नेपाली सेनाको व्याण्डबाजा सहित प्रभातफेरी कार्यक्रममा सहभागीको हातमा राष्ट्रिय झण्डाले धेरैको ध्यान खिचेको थियो ।

प्रतिक्रिया