जनताले शासनशैलीको मूल्यांकन गर्छन् : सभामुख

जनताले शासनशैलीको मूल्यांकन गर्छन् : सभामुख

दैलेख असाेज ७ ।
कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले प्रत्यक्ष नभनेरै जनताले जनप्रतिनिधिको शासन शैली सुक्ष्म ढंगबाट कामको मूल्यांकन गरिरहेको बताएका छन् । जिल्ला समन्वय समितिले दैलेख सदरमुकाममा सोमवार आयोजना गरेको जिल्लासभा उद्घाटन कार्यक्रममा विकासको प्रतिफल दिने क्षेत्रमा लगानी गर्न उनले सुझाव दिए ।
विकास योजनामा कति खर्च भयो भन्ने कुरा भन्दा पनि आम जनतालाई हित गर्छ वा गर्दैन ? दिर्घकालिन विकासमा सहयोग पुग्छ वा पुग्दैन भन्ने विषयलाई बिश्लेषण गरेर योजना छनौट र कार्य सञ्चालन गरे मात्र सुखी नेपाली र समृद्ध नेपाल अभियानलाई सहयोग पुग्ने सभामुख शाहीले बताए ।
कार्यक्रममा दैलेख क्षेत्र नं. १ का साँसद रबिन्द्रराज शर्माले जनप्रतिनिधिहरुले मर्यादा खोजेर बस्ने भन्दा पनि विकासमा सरसल्लाह र सहकार्य गर्न आवश्यक रहेको बताए । उनले जिल्लाका स्थानीय सरकार तयार रहेको भन्दै राष्ट्रसेवक कर्मचारीहरुको तत्परता जनाउन आग्रह गरे ।
कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्री दल रावलले संघीय व्यवस्था नयाँ अभ्यास भएको कारण केन्द्र, प्रदेश र स्थानीय सरकारहरुवीच आपसी सहकार्यताको कमी रहेको स्वीकार गरे । मन्त्री रावलले स्थानीय सरकारहरुले ठोस र दीर्घकालिन परिणाम दिन सक्ने योजना सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
त्यसबखत पूर्वसहायक मन्त्री विनोदकुमार शाहले जिल्ला समन्वय समिति र स्थानीय तहहरुले संविधान र ऐन कानूनले दिइएको अधिकार अनुसार जनहितमा काम नगरेको औल्याए । उनले योजना बनाउँदा स्थानको परिचय र तथ्यांक अध्यावधिक गरिनुपर्ने सुझाव दिंदै विद्यालय जानुपर्ने उमेरका बालबालिका विद्यालय वाहिर रहेको अवस्था विकासको वाधक बन्नसक्ने बताए ।
संविधानसभाका सदस्य एवं नेकपाका दैलेख इञ्चार्ज लक्ष्मीप्रसाद पोखरेलले स्थानीय तहका काम क्रियाकलापले संघीयताको सफलता र असफलता निर्धारण गर्ने बताए । उनले जनप्रतिनिधिसंगै राजनीतिक दलहरुले पनि स्थानीय सरकारको काममा सघाउन आग्रह गरे ।
जिल्लासभाको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभाका सदस्यहरु अम्मरबहादुर थापाले जनताको जनजीविकामा सहयोग पु¥याउन सक्ने आर्थिक उपार्जनका कार्यक्रमहरु प्राथमिकता दिनुपर्ने बताए । कर्णाली प्रदेशसभाका सदस्य मीनासिंह रखालले महिला जनप्रतिनिधिहरुलाई कम जिम्मेवारी दिइएको र समानुपातिक साँसदहरुलाई हेप्ने गरिएको दुखेसो राख्नुभयो ।
दैलेख क्षेत्र नं. २ (क)का कर्णाली प्रदेशसभा सदस्य सुशीलकुमार थापाले जिससले आयोजना गरेको जिल्लासभामा प्रस्तूत गरिएको नीति कार्यक्रम अत्यन्त राम्रो रहेको तर यसको कार्यान्वयन इमान्दारिता जरुरी रहेको बताए ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले स्थानीय तहको विकासका लागि सरकारको बजेट श्रोत छ तर सदुपयोग नभएको बताए । उनले ठेकेदार वा उपभोक्ता समिति कुनबाट पारदर्शिता हुने भन्ने कुरा जनताको इमान्दारिताको जरुरी रहेको औल्याए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लाका विकासले जिल्लाको विकास गतिविधिलाई पारदर्शिता र जनउत्तरदायी बनाउन उच्च नैतिकता, इच्छाशक्ति र अनुशासनको आवश्यता दर्शाए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको अध्यक्षतामा भएको जिल्लासभा उद्घाटन कार्यक्रममा पूर्वजिविस सभापति टेकबहादुर खाण, नेकपाका सचिव प्रेमबहादुर कटुवाल, नेपाली काँग्रेसका महासमिति सदस्य खेमराज केसी, राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष रामबहादुर थापा, जिसस उपप्रमुख लक्ष्मीदेवी शाहले पनि जिल्लाको दीगो विकासका लागि बहुपक्षीय सहकार्यता विषयमा बोलेका थिए ।
दैलेखका ११ स्थानीय तहले गरेका विकास गतिविधि, त्यसको प्रभाव, परिणाम, योजना सञ्चालन गर्दाका चुनौती, अनुभुती, भोगेका समस्या समाधानका उपाय विषयमा आफ्ना प्रस्तूती राखेका थिए । स्थानीय तहहरुले जनशक्तिको अभावमा अपेक्षाकृत काम गर्न नसकेको बताए ।
जिल्लासभामा केन्द्र र प्रदेशका साँसदहरु मंगलवार जिल्लाका ४ नगरपालिकाका प्रमुख, उपप्रमुखहरु, ७ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिका तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, जिल्ला समन्वय समितिका पदाधिकारी समेतबीच जिल्लाको विकास रणनीति र नीति तथा कार्यक्रम बारे छलफल हुने स्थानीय समन्वय अधिकारी पदमबहादुर सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया