६१ जिल्लामा स्क्रब टाइफस फैलियो

असोज ०७, काठमाडौं । स्क्रब टाइफसको संक्रमण ६१ जिल्लामा फैलिएको छ। मुसामा पाइने माइट (परजीवी) को टोकाइबाट यो रोग लाग्छ । दुई महिनामा झन्डै ७ सय व्यक्ति बिरामी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। विवेककुमार लालका अनुसार माइट मुसाको शरीरबाट झाडीतिर पाइन्छ। साउनको पहिलो सातादेखि स्क्रब टाइफसका विरामी फेला पर्न थालेका हुन् । यो अवधिमा ६ सय ९६ जना संक्रमित भएको डा लालले बताए ।
यसको संक्रमण सबैभन्दा बढी प्रदेश ५ मा देखिएको छ । रूकुम पूर्वबाहेक पहाडी र तराईका जिल्ला प्रभावित भएका छन्। २ सय ३७ जना संक्रमित छन्। सबैभन्दा बढी पाल्पामा ५९ जनामा संक्रमण पाइएको छ। पाल्पापछि रूपन्देही र गुल्मीमा बिरामी बढेका छन् ।
प्रदेश ३ मा २ सय ४ जना संक्रमित छन् । यो प्रदेशका जिल्लामध्ये धादिङमा सबैभन्दा बढी ७४ जनामा संक्रमण देखिएको छ । चितवन, काठमाडौंमा पनि बिरामी फेला परेका छन् । सुदूरपश्चिम प्रदेशमा १ सय ५५ जना बिरामी छन् । यस प्रदेशमा डडेलधुरामा सबैभन्दा बढी ६१ जना संक्रमित पाइएका छन् । यसका साथै कैलाली र बैतडीमा पनि संक्रमितको संख्या ठूलो छ।
गण्डकी प्रदेशमा मनाङ, मुस्ताङ र म्याग्दीबाहेक सबै जिल्लामा संक्रमित फेला परेका छन् । यो प्रदेशका आठ जिल्लामा ५१ जना बिरामी छन्। गोरखामा १२ जना संक्रमित भेटिएका छन् । गोरखा, नवलपरासी पूर्व, स्याङजा र बागलुङमा संक्रमित बढी पाइएको महाशाखाले जनाएको छ ।
प्रदेश २ मा २२ जना संक्रमित भेटिएका छन्। प्रदेश १ मा १८ जना संक्रमित छन् । स्क्रब टाइफसको संक्रमण सबैभन्दा न्युन कर्णाली प्रदेशमा देखिएको छ। यस प्रदेशमा आठ जना बिरामी फेला परेका छन् । २०७२ सालको भूकम्पपछि स्क्रब टाइफस संक्रमण बढेको चिकित्सक बताउँछन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा अनुप बाास्तोलाका अनुसार संक्रमित माइटले टोकेको दुई साताभित्र लक्षण देखिन सक्छन् । टोकेको ठाउँमा घाउ देखिन्छ। संक्रमणपछि टाउको दुख्ने, ज्वरो आउने, मांसपेशी दुख्ने, पखाला लाग्नेलगायत लक्षण देखापर्ने डा बाँस्तोलाले बताए । ‘रोगका लक्षण देखिनेबित्तिकै उपचार सुरु गर्नुपर्छ’, उनले भने, ‘हेलचेक्र्याइँ गर्दा जटिलता हुन सक्छ । उपचारमा ढिलाइ गर्दा ज्यान सजान सक्छ।’ जटिलता भएपछि मस्तिष्क, मिर्गौला र फोक्सोमा गम्भीर असरको सम्भावना रहने उनले बताए ।
संक्रमणबाट जोगिन माइटको टोकाइबाट बच्नुपर्ने विज्ञको सुझाव छ । घरभित्र मुसा भएको अवस्थामा संक्रमणको जोखिम हुन्छ । खेतबारी, बुट्यान, जंगलतिर जाने व्यक्तिलाई पनि संक्रमण हुने सम्भावना रहने चिकित्सक बताउँछन् । डा बाँस्तोलाले भने, ‘यसको संक्रमणबाट किसानहरू बढी पीडित भएको पाइएको छ ।’
संक्रमण हुनेबित्तिकै नजिकको स्वास्थ्य केन्द्रमा उपचार गर्न उनले आग्रह गरे। सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको छ ।
प्रतिक्रिया