दशैंमा घर जान आएका कर्णाली बासी नेपालगञ्जमै अलपत्र

दशैंमा घर जान आएका कर्णाली बासी नेपालगञ्जमै अलपत्र

नेपालगञ्ज, असोज १७ । तीन वर्षीय विवेक फडेरा एक वर्षपछि आफ्ना बाआमालाई भेट्न नेपालगन्ज आएको पाँच दिनभयो । अध्ययनका लागि काठमाडौं पुगेका सर्केघाड–३, उनापानीका विवेक काठमाडौंबाट नेपालगन्ज आए पनि घर पुग्न सकेका छैनन् । उनीजस्तै छायाँनाथ रारा नगरपालिका–४, मुगुका धीरेन्द्र महतारा चार दिनदेखि टिकट नपाउँदा नेपालगन्जमै छन् ।

यति मात्र होइन यातायातको सहज पहुँच नभएका कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्लाका सयौं यात्रु अहिले हवाई टिकट नपाउँदा नेपालगन्ज विमानस्थलमै अलपत्र परेका छन् । बर्सेनि दसैंको समयमा दशा बनेर आउने हवाई टिकटलाई सहज र व्यवस्थित गर्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले २०७५ को शुरुमै निर्णय ग¥यो । जसअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यबीच २०७५ जेठ २५ मा सुर्खेतबाट नियमित उडान गर्ने र यात्रुलाई सहज बनाउने विषयको सहमतिपत्रमा हस्ताक्षर भयो । यदी प्रदेश सरकार र सीतासँग भएको सम्झौता कार्यान्वयन भएको हुन्थ्यो भने यसरी कर्णालीवासीले अहिलजस्तोे प्र्रदेश ५ को नेपालगन्जमा कहरिला दिन बिताउनु पर्ने थिएन् ।

२०७५ असार १५ गतेदेखि सीता एयरले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला, जुम्ला, डोल्पा र मुगुमा डोर्निएर २२८ को जहाजबाट नियमित उडान भर्ने सहमतिपत्रमा उल्लेख थियो । जसअनुसार मुख्यमन्त्री शाहीले आफैँ यात्रु बनेर तामझामका साथ केही जिल्लामा सुरुवाती उडान गराए । शुरुमा निकै उत्साहित प्रदेश सरकारले सबै एयरलायन्सलाई सोहीअनुसार सम्झौता गर्ने प्रतिबद्धता व्यक्त ग¥यो विडम्बना सीता एयरसँगको सहमति कार्यान्वयन नभएरै थन्कियो । ‘हेर्दा सामान्य जस्तो लाग्ने उक्त सहमति कार्यान्वयनको विषय अरुका लागि त सामान्य नै थियो,’ हुम्ली जनएकता सेवा समाजका अध्यक्ष कलबहादुर लामा भन्छन्, ‘कर्णाली सरकारको बोलीलाई नीजि एयरलायन्सले हल्कारूपमा लिए । त्यसको प्रभाव नेपालगन्ज भएर आफ्नो घर जाने हुम्ला, मुगु, जुम्ला र डोल्पाका यात्रुमा प¥यो ।’

टिकटमा शक्तिको दुरुपयोगसमेत हुने गरेको यात्रुहरू बताउँछन् । सर्वसाधारण र विद्यार्थीले टिकट वितरण गर्ने स्थानको समेत जानकारी पाउन नसकेको हुम्लाका विष्णु फडेराले बताए । कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँचमा जोडिएका छैनन् । जहाँ पुग्न हवाई यातायातको कुनै विकल्प पनि छैन । कर्णाली प्रदेशका जुम्ला र मुगुमा सडक यातायात पुगे पनि त्यति भरपर्दो नभएकाले यो क्षेत्रका बासिन्दाले आवतजावत गर्न हवाई यातायातकै सहारा लिनुपर्ने बाध्यता छ ।

दसैंको लहर शुरु भएर आज पञ्चमी भइसक्यो फूलपाती आउन दुई दिनमात्रै बाँकी छ । तर कर्णालीका हिमाली जिल्लाका यात्रु नेपालगन्ज विमानस्थलमै अलपत्र परेका छन् । नेपालगन्जको राँझाका होटेलदेखि विमानस्थलभित्र घर फर्किने यात्रुको चाप निकै धेरै छ । नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार यात्रुको तुलनामा जहाजको उडान निकै न्यून छ । तारा एयरका नेपालगन्ज स्टेसन इन्चार्ज दीलिप कार्कीका अनुसार तारा एयरले हरेक दिन सिमकोट, रारा, जुम्ला, डोल्पा र बाजुरा गरेर पाँचवटा उडान भर्ने गरेको छ । तर दसैंको पर्सिपल्टसम्मका लागि सबै टिकट वितरण भइसकेका छन् ।

लामो समय पूर्व गएको सीता एयर र समिट एयरका एकएक विमान मंगलबारदेखि नेपालगन्ज आएका छन् । टिकट भने फोन र एसएमएसकै भरमा सीमित व्यक्तिले मात्रै पाउने गरेको भन्दै यात्रुहरू विरोधसमेत उत्रिएका छन् ।

अहिले सेवा नदिने जहाजलाई सिजनमा हुम्लामा आउन नदिने

दसैं र तिहारको अवधिमा उडान भर्न आनाकानी गर्ने एयरलायन्सका हुम्ला उडान बन्द गर्ने हुम्लाका सरोकारवालाले चेतावनी दिएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाकोे हवाई सेवा एकमात्र विकल्प भए पनि दसैंको मुखमा नीजि विमान कम्पनीहरू आफ्ना उडान पूर्व केन्द्रित गरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

‘चाडपर्वका बेला सेवा नदिने एयरलायन्सलाई पर्यटक आउने सिजनमा उडान भर्न नदिने निर्णय गरेका छौं,’ जिल्ला समन्वय समिति हुम्लाका प्रमुख दानबहादुर रावतले भने, ‘पर्यटक आउने सिजनमा एउटै एयरलायन्सले दैनिक १५्२० वटा उडान भर्छ तर हुम्लीलाई गाह्रो पर्दा मनपरी गरेपछि बाध्य भएर यस्तो निर्णय गरेका हौं ।’ विमान कम्पनी पूर्व केन्द्रित हुँदा दसैंमा घर फर्किने विद्यार्थी नेपालगन्जमा अलपत्र परेपछि हुम्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजले पूर्व केन्द्रित एयरलायन्सलाई रोक लगाउने निर्णय गरेका छन् ।

एयरलायन्सले भ्रममा पारे

नन्दसिंह बुढा
मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण

नागरिक उड्डयनको जिम्मा संघीय सरकारको हो । प्रदेश सरकारसँग कुनै अधिकार छैन । प्रदेशले शुरुकै क्याविनेटबाट नेपाल एयरलायन्सको जहाज सुर्खेतमा राख्ने र नीजि विमानलाई सुर्खेत केन्द्रित उडान नियमित गराउने निर्णय गरेको थियो । जसमा नेपाल एयरलायन्सले प्रदेशलाई टेरेन ।

निकै मेहनतपछि सीतासँग सहमतिपत्रमा हस्ताक्षर भयो । सुरुवाती उडान पनि गरियो । बाहिर सन्देश पनि राम्रै गयो । विडम्बना सम्झौता कार्यान्वयन महिना दिन टिकेन । अहिले नेपालगन्जमा हवाई यात्रुहरू अलपत्र परेको बारेमा म र सिंगो प्रदेशमन्त्री मण्डलसमेत चिन्तित छ, तर के गर्नुहुन्छ । हामीले भनेको कसैले टेर्नेवाला छैनन् । अब प्रदेश सरकारले ल्याएको चालू बजेटमा कर्णाली एयरलायन्स सञ्चालन गर्ने कुरा छ । आशा गरौं अर्को वर्षबाट समस्या कम होला ।

प्रतिक्रिया