यार्साको मुल्यमा गिरावटः गतवर्ष प्रतिकिलो १८ लाख, यसवर्ष भने १० लाखमै सीमित

धनगढी । बझाङको हिमाली भेगमा पाइने यार्साको मुल्यमा भारी गिरावट आएपछि संकलनकर्ताले ठूलो नोक्सानी व्यहोर्नु परेको छ। अघिल्लो बर्ष १८ लाख प्रतिकिलोका दरले कारोवार भएको यार्साको मुल्य यस बर्ष भने ६ देखि ७ लाख मात्रै रहेको छ।
यार्सा खरिद गर्ने चिनियाँ कम्पनिले प्रति किलो यार्सामा एकैपटक १० लाख सम्म मुल्य घटाएर खरिद गरिरहेका स्थानीयले जनाएका छन्। जसका कारण यार्सा संकलनकर्ताले ठुलो नोक्सानी व्यहोर्नु परेको बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए।
बझाङको अर्थतन्त्रमा ठुलो योगदान दिने यार्साको मुल्यमा एकैपटक भारी गिरावट आउँदा यार्सा संकलन कर्ता संगै समग्र जिल्लाको अर्थतन्त्रमा समेत ठुलो असर पर्ने उनले बताए। ‘जिल्लाको आधा भन्दा बढी जनसंख्याको आयआर्जनको श्रोत यार्सा नै हो’ अध्यक्ष सुर्मेलीले भने–‘तर एकैपटक ह्वात्तै मुल्य घट्दा यस क्षेत्रमा आर्थिक मन्दि हुनसक्ने देखिएको छ।
‘यस बर्ष यार्साको मुल्य सोचेभन्दा पनि बढी घटेर विक्रि भइरहेको सुर्मा गाउँपालिकाका स्थानीय धनबहादुर बोहराले बताए। गत वर्ष प्रतिकीलो यार्सा १८ लाखमा विक्रि भएकोमा यस वर्ष ६(७ लाखको हाराहारीमा मात्र बिक्रि भइरहेको उनले बताए ।
‘यार्सा खरिद गर्ने चिनिया व्यापारीले मुल्यमा एकैपटक यती धेरै गिरावट ल्याउलान् भनेर सोचिएको पनि थिएन’ बोहराले भने–‘तर नसोचेकै मुल्य दिंदै चिनियाँले यार्सा खरिद गरिरहेका छन्, धेरै संकलन कर्ता बेच्ने या नबेच्ने भन्ने दुविधामा रहेका छन्।’ चिनियाँ व्यापारीले एकैपटक ह्वात्तै रेट घटाएपछि संकलन कर्ता बेच्ने या नबेच्ने भन्ने दुविधामा रहेका उनले बताए।
‘यार्सा संकलन गर्दा पाएको दुःख र परिश्रम अनुसारको मुल्य नै नपाउने भएपछि धेरै संकलनकर्ताले अहिले सम्म यार्सा बेच्न सकेका छैनन्’ काँडाका स्थानीय घुरन बोहोराले भने–‘समस्यामा परेका संकलनकर्ता मात्रै घटेको मुल्यमा यार्सा विक्रि गर्न थालेका छन् ।’ स्थानीयबाट यार्सा संकलन गर्ने व्यापारीले घटेकै रेट अनुसार कारोवार गरिरहेको बताएका छन्।
‘गत वर्ष तोलाको १८ हजार दिंदै आएका थियौं’ स्थानीय ब्यापारी भुन्टु धामीले भने –‘यस बर्ष माथीबाटै मुल्य घटेर आएपछि हामीले पनि ८ हजार तोलामा यार्सा खरिद गरिरहेका छौं।’
जिल्ला र जिल्ला बाहिरका व्यापारीहरुले खरिद गरेको यार्सा यस बर्ष सस्तोमा बेच्नु परेको उनको दुःखसो छ। मुल्यकै लागि काठमाण्डौंमा रहेका चिनीया व्यापारी संग पटक–पटक वार्ता बसेपनि कुरा नमिलेको धामीले बताए।
‘चिनियाँ व्यापारी संग धेरै चोटी दररेटका बारेमा वार्ता गरियो’ उनले भने–‘तर ६÷७ लाख भन्दा बढीमा कुरो मिलेन, अहिले हामी पनि सस्तोमा विक्रि गर्न बाध्य छौं ।’
दौलीचौरका कलक बोहराले चिनीयाले जती मुल्य तोक्छन त्यसैमा चित्त बुझाउनुपर्ने बाध्यता रहेको बताए। यार्साको रेट नेपाल सरकारले नै निर्धारण गरिदिनुपर्नेमा उनले जोड दिए।
यसरी नै आगामी बर्ष पनि यार्साको मुल्य घट्दै गएमा यार्साबाट निर्भर रहने स्थानीयको विचल्ली हुने र बझाङको अर्थतन्त्रमा पनि ठुलो असर पर्न सक्ने उनले बताए। बझाङमा मात्र यस बर्ष साढे ३ क्वीन्टल हाराहारीमा यार्सा संकलन भएको अनुमान गरिएको छ।
प्रतिक्रिया