कास्की २ मा कांग्रसबाट खेमराज पौडेल उम्मेदवार

कास्की २ मा कांग्रसबाट खेमराज पौडेल उम्मेदवार

पोखरा कात्तिक २० । आगामी मंसिर १४ मा हुने उप निर्वाचनमा कांस्की क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसले खेमराज पौडेललाई उमेद्वार बनाउने निर्णय गरेको छ।कात्तिक १९ गते मंगलबार करीब १० घण्टा लामो छलफलले पनि कास्की २ का लागि कांग्रेसले उम्मेदवारको नाम ल्याउन सकेको थिएन। तर बुधबार बिहान बसेको पदाधिकारी बैठकले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेपाली कांग्रेस जिल्ला कमिटी कास्कीका सभापति कृष्ण केसीले पौडेललाई पदाधिकारी बैठकले टिकट दिएको पुष्टि गरे। जिल्लामा सर्वसम्मतिले टुंगो लगाउन नसकेपछि १६ जना आकांक्षीको नाम केन्द्र पठाइएको थियो ।

जसमा खेमराजले बाजी मारेका हुन्। कास्की २ प्रतिनिधि सभाका लागि चुनाव हुने एक मात्र क्षेत्र हो । त्यसैले कास्की २ लाई धेरैले महत्वका साथ हेरिरहेका छन्। तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ प्रतिनिधि सभा सदस्य विहिन छ ।

नेकपाले रवीन्द्रकै श्रीमती विद्या भट्टराईलाई उमेद्वार बनाएको छ । अन्य साना दलले पनि उमेद्वारको टुंगो लगाएर चुनाव प्रचार प्रचारमा होमिएका छन्।

प्रतिक्रिया