न्यायिक समितिको छलफलमै कुटपिट

न्यायिक समितिको छलफलमै कुटपिट

कात्तिक २३, २०७६ – दैलेख – गाउँघर वा छरछिमेकमा भएका विवादहरुको निरुपण गर्न नेपालको संविधानले नै स्थानीय सरकारले कानूनी अधिकार दिएको छ । यही अधिकारको प्रयोग गर्दै दुल्लू नगरपालिकामा परेको उजूरीका विषयमा छलफल भइरहेको बेला हिजो कुटपिट भएको छ ।

गएको साउन २६ गते घर बनाउने कामका लागि ट्रयाक्टरमा जटित ट्याङ्करमा पानी खन्याई सकेर रोकिएको गाडी खस्दा क्षतिपूर्ति मागेको विषयमा नगरपालिकाको न्यायिक समितिमा छलफल हुँदा दूल्लू नगरपालिका–८ बालेश्वरका ४५ वर्षीय आउसे कामीलाई कुटपिट भएको हो ।

विवादको विषयमा सामान्य छलफलपछि उपमेयर बिष्णु थापाले दुई पक्षबीच सहमती गर्न नगरपालिकाको प्रतीक्षालयमा पठाएको बेला उजूरी दिएको पक्ष गाडी मालिक २६ वर्षीय प्रकाश आचार्य र उनका दाजु ३२ वर्षी राजु आचार्यले आफूलाई कुटपिट भएको औंसे कामीले बताउनुभयो ।

पानी ल्याएको ट्याङ्कर खाली भइसकेपछि औंसेकै घर नजिक पार्किङ्ग गरी राखिएको ट्रयाक्टरमा चढेर बालबालिका खेल्न लागिरहेको बेला ट्याङ्कर जडित ट्रयाक्टर सडकबाट करिव २५ मीटर तल खसेको विषयमा मर्मत सम्हार खर्च नपाएको भन्दै प्रकाश आचार्यले नगरपालिकामा उजूरी दिएको थिए ।

छिमेकी बालिका ११ वर्षीया निर्मला भण्डारी र १० वर्षीय बालक शेरबहादुर खत्री ट्रयाक्टरमा चढेर खेल्न लाग्दा ट्याङ्कर जडित ट्रयाक्टर सडकबाट तल खसेको थियो । ट्रयाक्टर मर्मत गर्न एक लाख मागेपछि खाली गरिएको ट्रयाक्टर नलैजानु गाडीवालाको कमजोरी भन्दै औंसेले तिर्न इन्कार गर्नुभएको थियो ।

घटना लगतै इलाका प्रहरी कार्यालय दुल्लूमा गाडीवाला पक्षले दिएको उजूरीमा छलफल हुँदा तिर्न वाध्य पार्न नसकिने प्रतिक्रिया दिएपछि वडा कार्यालयमा भएको छलफलमा ५० हजार क्षतिपूर्ति दिइनुपर्ने भन्दै वडाध्यक्ष टिकाराम थापाले कागज गराएको औंसेको आरोप छ ।
वडा कार्यालयले कागज गराएको रकम नदिएको विषयमा दुल्लू नगरपालिकाको न्यायिक समितिमा परेको उजूरी बारे दुबै पक्षबीच छलफल चल्दै भएको विवादकै बीच सहमतीका लागि वाहिर पठाएको बेला औंसे माथि आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

औंसेले पानी खाली गरिसकेको गाडी पल्टिनु आफ्नो दोष नभएको जीकिर गरेपछि औंसे कामीले अडान राखेपछि आक्रमण भएको हो । छलफल चलाउदै गर्दा कुटपिट हुन थालेपछि छलफल छोडेर आफू वाहिर निस्किएकोले थप जानकारी नभएको उपमेयर थापाले टिप्पणी गर्नुभयो ।
न्यायिक समितिमा छलफलकै क्रममा भएको कुटपिटको क्रममा औंसे कामीको देब्रे तीघ्रा, ढाडमा लात्ती र टाउकोमा बाक्सिङ्ग हानिएको चोटले वाहिरी घाउ नदेखिए पनि शरीरमा भित्री चोट लागेको छ । भित्री चोटले औंसेले हिंड्न समेत कठिन भएको बताउनुभयो ।
दुई पक्षबीच सहमती गर्न इजलास बाहिर पठाइएको बेला वाहिर नै कुटपिट गर्दै ज्यान लिने धम्की दिएपछि त्यहाँ आएका अरु सेवाग्राहीले जोगाएका थिए । घटना लगतै आफू डराएर घर फर्किएको र ज्यान सुरक्षाको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको पीडित पक्षले बताएको छ ।
कुटपिट घटनाका आरोपित आचार्यद्वयको प्रतिक्रिया लिन सम्पर्क हुन सकेन । प्राप्त जानकारी अनुसार पानी बोक्ने ट्याङ्कर जोडिएको ट्रयाक्टरको न नम्वर प्लेट देखिन्छ, न त बिलबुक र लाइसेन्स छ ।

प्रतिक्रिया