भारतको नयाँ नक्साः सुदूरपश्चिम प्रदेश सरकारको आपत्ति

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भारतको नयाँ राजनीतिक नक्साप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली भू–भाग लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेकोप्रति सुदूरपश्चिम सरकारले आपत्ति जनाएको हो ।
प्रदेश सरकारले दार्चुलालगायत मुलुकका विभिन्न भागमा देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
यस्तो हो नेपालको खास नक्सा
नेपाली भू–भागलाई भारतले आफ्नो भूमि बनाएपछि सोमबार आकस्मिकरुपमा प्रदेशको मन्त्रिपरिषद् बैठक बसेको थियो ।
बैठकले सीमा, साँध हेर्ने अधिकार संघीय सरकारलाई रहेकाले विवाद समाधानका लागि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनीमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।
यसैगरी, प्रदेश सरकारले दार्चुलाको तिंकर र सांगरु गाउँसम्म जानका लागि घोरेटो बाटो निर्माण गर्ने निर्णय गरेको छ ।
सो सडक निर्माणका लागि केही दिनमै बजेटको व्यवस्था गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
कालापानीस्थित सीमा क्षेत्रमा ‘बीओपी’ स्थापनाका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको प्रवक्ता शाहले बताए ।
प्रतिक्रिया