बालविवाह रोकथाममा अब बालबालिका

बालविवाह रोकथाममा अब बालबालिका

दैलेख मंसिर ९ गते
बालविवाह रोकथामका लागि दैलेख प्रहरीको कामलाई सघाउन विद्यालयका विद्यार्थी र शिक्षकहरुको समेत सहयोग थपिने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको समन्वयमा बाल विवाह समस्या रहेका जिल्लामा अभियान थाल्न साझेदार श्रोत प्रयोग गरेर सहयोगी थपेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदेशका बाल विवाह अधिक समस्या रहेका कालिकोट, जाजरकोट र दैलेखमा बालविवाह रोकथाम प्रभावकारी बनाउन सेभ द चिल्ड्रेनको कर्णाली प्रहरी कार्यालयको सहयोगमा तीनवटै जिल्लामा उच्च माविका बालबालिका र शिक्षकहरु परिचालन गर्न लागिएको हो ।
बालविवाह गर्नेहरुको संख्या नै बढीजसो यही उमेर समूहका भएको कारण उच्चमाविका बालबालिकाहरुलाई अभियानकर्ता बनाउदा प्रभावकारी हुने बिश्लेषणका आधारमा त्यो समूह रोजिएको सेभ द चिल्ड्रेन कर्णाली प्रदेश इञ्चार्ज उपनिर्देशक धना भूसालले जानकारी गराइन् । उनले भनिन् ‘प्रहरीले कर्णाली प्रदेशभर गरौं भनेको थियो हामीले तीन जिल्लामा मात्र साझेदारी ग¥यौं ।’
सेभ द चिल्ड्रेनको सहयोगमा तीन जिल्लामा गर्न लागिएको बालविवाह न्यूनीकरण सम्वन्धी अभिमुखीकरणको तीन दिने कार्यक्रम अन्तरगत दैलेखका ४७ वटा विद्यालयका उमावि तहका एक बालक, एक बालिका र एक जना शिक्षक समेतलाई तालिम दिइएको छ ।
सेभ द चिल्ड्रेनको साझेदारीमा सहयात्रा परियोजना सञ्चालन गरिरहेको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख समन्वयकर्ता बनेर जिल्ला प्रहरी कार्यालय दैलेख आयोजक रहेको अभिमुखीकरण कार्यक्रममा प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य र जिल्ला सरकारी वकील द्रोणदत्त पौडेलले सहजीकरण गरेका थिए ।
दैलेखमा सञ्चालन गरेजस्तो अभिमुखीकरण जाजरकोटमा मंसिर १२ देखि १४ गतेसम्म सञ्चालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक केशरबहादुर कार्कीले जानकारी दिए । त्यहाँ ३२ वटा उच्चमाविका बालबालिका र माविका शिक्षकहरु सहभागी हुने उनले बताए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयसंगको सम्झौता अनुसार कालिकोटमा उक्त अभिमुखीकरण गर्न जिल्ला प्रहरी कार्यालय, किडार्क नेपाल र सेभ द चिल्ड्रेन बीच सोमवार मात्र तयारी बैठक राख्न लागिएको सेभ द चिल्ड्रेनका बाल संरक्षण संयोजक बाले बिकले जानकारी दिए ।
दैलेखमा तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बालविवाह सामाजिक समस्या भएको कारण समुदायको सक्रियतामा मात्र रोकथाम गर्न सकिने बताए । सन् २०३० सम्म बालविवाह मुक्त बनाउने राष्ट्रिय लक्ष्य पूरा गर्न सबैले अहिले देखि नै सहकार्य गरे मात्र सम्भव हुने प्रष्ट्याए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी हरिबहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बालकृष्ण केसी, सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापा, इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले बालविवाह रोकथाममा विद्यार्थी र शिक्षकहरुको भूमिकाबारे प्रकाश पारेका थिए।
सामुदायिक स्तरमा बालविवाह रोकथाम प्रयासलाई थप बढावा दिन तालिममा सहभागी बालबालिकाले पनि चासो देखाएका छन् । सरस्वती मावि तर्ताङ्गकी छात्रा निर्मला सोनीले भनिन् ‘पहिले बालविवाह गर्नु हुँदैन भनेर सचेतना दिन्थ्यौं, अब कानूनी ज्ञान समेत भएकोले आवश्यक पर्दा बहस गर्न सक्छौं ।’
बालविवाह गर्दा हुने आर्थिक, सामाजिक र शैक्षिक नोक्सानी, स्वास्थ्यमा पर्ने प्रतिकुलता, बाल विवाह गर्ने व्यक्तिलाई हुने कानूनी सजाय विषयमा अभिमुखीकरण पछि यो कानूनी र सामाजिक अपराध भएको बुझेको त्यही कुरा समाजमा बताउने तालिममा सहभागी पार्वती मावि गोगनपानीकी बालकुमारी खत्रीले बताइन् ।
नेपालमा जनसंख्याको अनुपातमा अत्याधिक बालविवाह हुने मध्ये तेश्रो स्थान रहेको दैलेखमा प्रहरी र गैरसरकारी संस्थाहरुको समन्वयमा अभियान सक्रियता बढाइरहेको बेला उच्चमाविका बालबालिका समेत थपिएपछि बालविवाह रोकथाममा प्रयास गर्ने र विवाह भइसकेको अवस्थामा सूचना दिने प्रणालीलाई सघाउनेमा आफू आशावादी रहेको सोसेकको सहयात्रा परियोजनाका निर्देशक नवराज बीसीले बताए ।
दुई वर्ष अघि निशुल्क कानूनी सहायता परियोजना सकिएको लगतै सामाजिक सेवा केन्द्र (सोसेक) ले महिला तथा बालबालिका सेवा केन्द्र सञ्चालन गरेयता पीडितलाई आवश्यकता अनुसार मनोविमर्श र कानूनी सहायता समेत दिन थालेपछि महिला र बालबालिकाहरु अन्याय परेको बेला सहजै सम्पर्कमा आउने गरेका छन् ।
आफूले देखेको दण्डनीय अपराधबारे सूचना दिने प्रणाली समेत भएकोले बालविवाहको सूचना पनि बढेको कारण संभवतः देशमै धेरै बालविवाहका मुद्दा अदालत पुगेका छन् । इन्सेकको तथ्यांक अनुसार अघिल्लो आार्थिक वर्षमा अभिभावकको जिम्मा लगाइएका बाहेक ९ जोडी बालविवाहका मुद्दा अदालत पुगेका थिए ।

प्रतिक्रिया