कर्णालीको चौमासिक बजेट खर्च १.६१ मात्र

कर्णालीको चौमासिक बजेट खर्च १.६१ मात्र

दैलेख मंसिर १२ गते । चालू आर्थिक वर्ष (आव)मा कर्णाली प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ । चालू आवको ४ महीना अवधिमा प्रदेश सरकारले कुल बजेटको १ दशमलव ६१ प्रतिशत मात्र खर्च गरेको छ । चालू आवमा प्रदेशको कुल बजेट ३४ अर्ब ३३ करोड ५१ लाख ८१ हजार रुपैयाँ थियो, जसमध्ये अहिलेसम्म (अपरिष्कृत) ५५ करोड ४१ लाख ३१ हजार मात्र खर्च हुन सकेको छ । गत आव २०७४/७५ को सोही अवधिमा बजेट खर्च प्रगति ३ दशमलव ५ प्रतिशत थियो । 

कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताएकी छिन् । ‘कर्मचारी पदपूर्तिको माध्यम लोक सेवा आयोग हो,’ उनले भनिन्, ‘तर हालसम्म लोकसेवा आयोग गठन नहुँदा कर्मचारी अभाव कायमै छ ।’

कोष तथा लेखा नियन्त्रण प्रदेश कार्यालयकी सूचना अधिकारी यमुना श्रेष्ठले चालू आवमा अपेक्षाकृत बजेट खर्च नभएको स्वीकारिन् । प्रदेशमा विनियोजित चालूतर्फको १३ अर्ब ४१ लाख ४९ हजारमध्ये ४७ करोड ९७ लाख १६ हजार र पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजारमध्ये ७ करोड ४४ लाख १४ रुपैयाँ मात्र खर्च भएको उनले जानकारी दिइन् । विकास निर्माणमा भन्दा कर्मचारीको तलब, भत्तामा बढी बजेट खर्च भएको उनले बताइन् । चालू आवको बजेट गत आवको भन्दा धेरै हो । 

कार्यालयको तथ्यांक अनुसार चालू आवको ४ महीनामा योजना आयोगको बजेट खर्च प्रगति सबैभन्दा कम छ भने सामाजिक विकास मन्त्रालयको सबैभन्दा धेरै छ । योजना आयोगले चालू र पूँजीगततर्फ गरी ३२ लाख ८९ हजार खर्चिएको छ भने सामाजिक विकास मन्त्रालयले दुवै शीर्षकमा गरी १८ करोड ८८ लाख ६२ खर्च गरेको छ । प्रदेश व्यवस्थापिकाले ३ करोड २७ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयले चालूतर्पm २५ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ भने यसको पूँजीगत खर्च शून्य छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २ करोड ७० लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड ९० लाख ७३ हजार रुपैयाँ खर्चिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको बजेट खर्च प्रगति ११ करोड ५६ लाख ५९ हजार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ७ करोड ५८ लाख १३ हजार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको २४ लाख ९१ हजार रुपैयाँ छ । यसैगरी भौतिक पूर्वाधार मन्त्रालयले ६ करोड ८५ लाख ४० हजार बराबरको बजेट खर्च गरेको कोलेनिकाको तथ्यांक छ ।

प्रतिक्रिया