भ्रमण वर्ष २०२० : कर्णाली सरकारकाे आफ्नै लोगो र नारा

भ्रमण वर्ष २०२० : कर्णाली सरकारकाे आफ्नै लोगो र नारा

सुर्खेत १३ मंसिर । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै कर्णाली सरकारले आफ्नो प्रदेशको पहिचान झल्कने गरी छुट्टै ब्राडिङ गर्ने भएको छ । प्रदेश सरकारले भ्रमण वर्ष सफल बनाउने नारासहितको लोगो खुला प्रतिस्पर्धाबाट आहृवान गरेको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक आहृवान गर्दै नारासहितको लोगो मागेको हो । कर्णाली प्रदेशका पर्यटकीय गन्तब्य, संस्कृतिको पहिचान र प्रचार-प्रसार गरी भ्रमण वर्षलाई सहयोग गर्ने योजना रहेको प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले जनायो ।

मन्त्रालयका अनुसार नारासहितको लोगो कर्णाली प्रदेशको प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिकलगायत विशेषता झल्कने खालको हुनु पर्ने छ । यो जुनसुकै साइजमा पनि मिल्ने र डिजिटल कपीमा आहृवान गरिएको छ । नेपाली र अंज्रेजी दुबै भाषामा लोगो तथा नारा माग गरिएको छ ।

व्यक्ति, संघसंस्था, र्फमसमेतले यसमा भाग लिन सक्ने छन् । छनोट समितिले उत्कृष्ट मध्येबाट छानेको एक लोगोलाई नगद ४० हजार रुपैयाँसहित पुरस्कृत गरिने भएको छ ।पछिल्लो समय नेपाल भ्रमण वर्षलाई सफल बनाउन प्रदेश सरकारहरुसमेत तयारीमा जुटेका छन् ।

प्रतिक्रिया