महिलाले भत्काए छाउगोठ

महिलाले भत्काए छाउगोठ

गौरीगंगा नगरपालिका १ पछ्लापुर गाउँका महिलाहरु आफ्नै घर नजिक रहेको छाउगोठ भत्काउँदै

लम्की, मङ्सिर १४ गते । कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १ पछ्लापुरमा १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत छाउपडी गोठ हटाउने अभियानमा जनप्रतिनिधि पुग्दा त्यहाँका महिलाहरुले छाउगोठमा बस्दा आफूले भोगेका पिडा खुलेर सुनाए ।

छाउपडी वा महिनावारीका बारेमा उनीहरुले राम्रोसँग बुझेपछि महिला जनप्रतिनिधिकै अगाडि छाउगोठ भत्काए ।छाउगोठ भत्काउनु अघि उक्त गाँउकी ४५ वर्षीया माता भुलले नजिकै रहेको छाउपडी गोठ देखाउँदै गोठमा सुत्दा भोग्नु परेका पिडा सुनाउनुभयो । छाउपडि गोठमै सुत्दा उहाँलाई सर्पले टोकेको थियो । समयमै उपचार पाएर निको भएको बताउने माताले चोरको शिकार समेत भएको बताउनुभयो । ‘कतिपटक चोर आएर नाकमुख छाम्यो चिच्याएपछि भाग्यो’ उहाँले भन्नुभयो ।
अहिले आफू महिनावारी हुन छोडे पनि छोरी बुहारीले भोगेको पिडा भोग्न नपरे हुने थियो भन्ने भुललाई लागेको छ । छाउपडी गोठ भत्काउन मन लागेपनि देवता रिसाउछन् की भन्ने डरले भत्काउन नसकेकी भुलले जनप्रतिनिधि कर्मचारीले सम्झाएपछि रजश्वला भएपछि सुत्न बनाएको माटाको टाँड भत्काउनुभयो । साथै, उहाँले ‘मैले त धेरै दुःख पाएँ अब मेरा छोरीबुहारीलाई त्यो दुःख पिडा हुनदिन्न’ भन्नुभयो ।
माता भुलले जस्तै रम्भाभुलले पनि आफ्नो घर नजिक रहेको छाउपडि गोठ भत्काउनु भएको छ । छाउपडि गोठमा छोरीबुहारी सुताउने रहर नभए पनि घरमा सुत्दा देवता रिसाउने र विरामी हुने डरले भने उहाँलाई सताएको छ । करिब डेढसय घर रहेको उक्त गाँउमा अशिक्षित गरिब र दलित समूदायको बसोबास छ ।
छाउपडि गोठमा सुत्दा धेरैले विभिन्न समस्या झेल्नु परेको छ । सोहि गाउँकी नरुदेबी बिक को २ वर्ष पहिला छाउगोठमा सुतेकै बेला सर्पको टोकाईबाट निधनभयो । नरुदेवीको बहिनी खगुदेबी बिक सोही गाउँकी हुनुहुन्छ । वडा सदस्य समेत रहेकी खगुदेबीले आफ्नो दिदीले जस्तै महिनावारी हुँदा छाउगोठमा सुत्दा ज्यान गुमाउन नपरोस् भनेर गाउँभरीका दिदी बहिनीलाई छाउपडिका बारेमा बुझाउनुका साथै छाउगोठमा नसुत्न भन्नुहुन्छ ।
दिदीको छोउगोठमा सुतेका बेला सर्पको टोकाइबाट निधन भएपछि गाउँमा धेरै महिला महिनावारी भएका बेला छाउगोठमा सुत्न छोडेको खगुदेबीले बताउनुभयो ।
सुदुरपश्चिमका पहाडी जिल्लामात्र होईन तराईका पछ्लापुर जस्ता केही ठाउँमा समेत छाउपडि प्रर्थाले नराम्रोसँग जरा गाडेको छ । विशेष गरेर पछिल्लो समय पहाडी जिल्लाबाट बसाई सरी बसोबास गरेका दलित गरिब अशिक्षित समूदायमा छाउपडि प्रथा कायमै छ ।
गौरीगंगा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले नगरपालिका भरी सबैभन्दा बढी छाउपडि मान्ने गाउँ पछ्लापुर रहेकोले सोही गाउँबाट अभियान चलाइएको बताउनुभयो । छाउपडि गोठमा सुत्दा सर्पको टोकाईबाट ज्यानै जानुको साथै, चोर बलात्कारको सिकार समेत हुने भएकाले छाउपडिका बारेमा गाँउका महिलाहरुलाई सचेत बनाउँदै छाउगोठ हटाउने अभियानमा जुटेको उहाँले बताउनु भयो ।
उपप्रमुख चौधरीले नगरपालिकामा ९४ प्रतिशत महिला हिंसा रहेको र छाउपडि प्रथा पनि महिला हिंसाकै कारक रहेको बताउँदै ‘धेरै मानिसमा देवता रिसाउँछन् भन्ने भ्रम रैछ, हामीले सम्झाई बुझाई गरेपछि हाम्रै अगाडि छाउगोठ भत्काउनु भएको छ, अब उहाँहरु महिनावारी हुँदा छाउगोठमा हैन आफ्नै घरमा सुत्नुहुन्छ’ भन्नुभयो ।

प्रतिक्रिया