सामाजिक पुरातन मान्यता तोड्न नसकेसम्म महिला माथि हुने हिंसा निर्मूल हुन नसक्ने

सामाजिक पुरातन मान्यता तोड्न नसकेसम्म महिला माथि हुने हिंसा निर्मूल हुन नसक्ने

नारायण नगरपालिका वडा नंं. १० का वडाध्यक्ष लोकबहादुर थापाले सामाजिक पुरातन मान्यता तोड्न नसकेसम्म महिला माथि हुने हिंसा निर्मूल हुन नसक्ने बताएका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शनिवार १३ औं दिन नारायण नगरपालिका कार्यालयले भवानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् ।

वडाध्यक्ष थापाले विभिन्न राजनीतिक परिवर्तन र आन्दोलनको बलमा पहिलेको भन्दा महिला माथि हुने हिंसा र अरु सामाजिक विभेद बिस्तारै कम हुँदै आएको भए पनि ती समस्या निर्मूल पार्न निरन्तर सचेतना अभियान जरुरी भएको बताए ।

त्यसबखत सामाजिक सेवा केन्द्र (सोसेक) को महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले समाज भइरहेको महिला हिंसाका घटना भएमा पीडितले सार्वजनिक गर्ने र उजूरी प्रक्रिया लिने आँट गर्न सके मात्र हिंसा कम हुने सक्ने बताइन् ।

इन्सेक जिल्ला प्रतिनिधि पत्रकार अमर सुनारले सामाजिक सद्भावका नाममा बलात्कार, बहुविवाह, बालविवाह, जातीय भेदभाव, गम्भीर कुटपिट जस्ता गम्भीर फौजदारी अपराधका घटना मेलमिलाप गराउन नहुने बताए । समाजमा सबैले आत्मसम्मानका साथ बाँच्न पाउने मौलिक हक भएको उनले प्रष्ट्याए ।

कार्यक्रममा सेतो गुराँस बालविकास सेवाका अध्यक्ष गीता बस्याल, नारायण नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख महिला विकास निरीक्षक गोमा खत्री, नारायण नगरपालिका वडा नं. १० का वडा सदस्य नन्दा बिक र महिला स्वास्थ्य स्वयम् सेविका राते बोगटीले घरेलु हिंसाका स्वरुप र समाधानका लागि समाजको भूमिका विषयमा प्रकाश पारेका थिइन् ।

प्रतिक्रिया