उच्च अदालतको आदेशमा धरौटी तिर्न नसकेकी किशोरी छुटिन्

उच्च अदालतको आदेशमा धरौटी तिर्न नसकेकी किशोरी छुटिन्

मंसिर २७, २०७६ –
दैलेख – बालविवाहको मुद्दामा धरौटी तिर्न नसकेर कारागार थुनामा राखिएकी चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ की १८ वर्षीया किशोरी उच्च अदालतको आदेशमा छुटेकी छिन् । साउन ८ गते जिल्ला अदालतले तोकेको ३५ हजार तिर्न नसकेपछि उनी कारागार थुनामा थिइन् ।
तत्तकालिन जिल्ला न्यायाधीश सनतचन्द लवटको इजलासबाट तोकिएको उक्त धरौटी तिर्नूपर्ने आदेश नमिलेको भन्दै दैलेख जिल्ला अदालतका वैतनिक वकील सर्वराज जोशीले दिएको वेरितको निवेदन उपर आज भएको बहसपछि उच्च अदालत सुर्खेतले साधारण तारेखमा छोड्न आदेश गरेको हो ।
उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय बिनोद शर्मा र सुदर्शनदेव भट्टको इजलासले सो आदेश दिएको हो । उच्च अदालत वैतनिक वकील भानुभक्त गौतमले बालविवाहका आरोपित ती किशोरीको तर्फबाट निःशुल्क वहस गरेका थिए । वादी सरकार पक्षबाट उच्च सरकारी वकील कार्यालय सुर्खेतका सरकारी वकील प्रयागदत्त जैसीले बहस गरेका थिए ।
किशोरीकी आमाले दिएको बालविवाह जाहेरी अनुसार असार १७ गते बालविवाह गरिएको भनिएका किशोरीसंगै पक्राउ परेका आठबीस नगरपालिका–२ सिगौडीका ३९ रामप्रसाद जैसीले आफ्नो हिस्साको ३५ हजार तिरेर साउन ८ गते नै धरौटी तारेखमा छुटेका थिए । रामप्रसाद चार छोराछोरीको बाबु हुन् ।
तोकिएको धरौटी तिर्न नसकेकै कारण किशोरी कारागार थुनामा बस्नु परेको समस्या औल्याउँदै साधारण तारेखमा छुटाउने कामका निम्ति सामाजिक सेवा केन्द्र (सोसेक)का महिला तथा बालबालिका सेवा केन्द्र र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संस्थागत पहल गरेका थिए ।

प्रतिक्रिया