बाँके, बर्दियालाई कर्णालीमा स्वागत छ: मुख्यमन्त्री शाही

नेपालगन्ज पुष १० : प्रस्तावित लुम्बिनी प्रदेशले स्थायी राजधानी तोक्न आलटाल गरिरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाँके, बर्दिया आफ्नो प्रदेशमा आए खुशीका साथ स्वागत गर्ने धारणा सार्वजनिक गरेका छन् ।
बिहीबार विहान सात बजे ‘सेतोखरीका कार्यकारी सम्पादक कमल न्यौपाने’ र कर्णालीका मुख्यमन्त्री शाहीबिच भएको टेलिफोन कुराकानीमा मुख्यमन्त्री शाहीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
वामगठबन्धनका नेताबिच प्रदेश राजधानीका बारे खिचातानी चलिरहेको अवस्थामा कर्णाालीका मुख्यमन्त्री शाहीको यो स्वागत योग्य धारणाले बाँके, बर्दियाबासीमा थप उत्साह थपिएको छ । कर्णालीबासी पनि अत्यन्तै खुशी भएको मुख्यमन्त्री शाही बताउँछन् ।
कर्णालीमा मिसिने कुरा त एकदमै राम्रो हो मुख्यमन्त्री शाहीले भने ‘हामी एकदमै खुशी छौं । स्वागत गर्न आतुर पनि छौ । तर, आउने नआउने कुराको निक्र्यौल गर्ने अधिकार बाँके, बदियाका नागरिक र राजनीतिक दलमा निर्भर छ ।’
कर्णाली प्रदेशमा तराई र मधेशको अभाव देखिएको छ । बाँके, बर्दियालाई बुटवल भन्दा सुर्खेत नै राजधानी उपयुक्त छ, उनले भने ‘कर्णाली र तराईका यी जिल्लाको वर्षाैंको सम्बन्ध टुटाउनु भन्दा जोड्नुमै फलदायिक होला ।’ उनले भने ‘मेरो मात्रै होइन यो अभियानमा सम्पूर्ण कर्णालीको सहयोग रहनेछ ।’
प्रस्तावित लुम्बिनी प्रदेशका अधिकांश नेताहरूको राजधानी बुटवल नै बनाइनु पर्ने अडान छ । यसर्थ दोस्रो बरीयताका वामपन्थी नेताको बाहुल्य रहेको प्रदेशमा राजधानी कहाँ बनाउने विषय पेचिलो बन्दै गएको छ ।
यस अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले प्रदेश राजधानी बुटवलमै भए बाँके बर्दियालाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनले दाङसम्म भए मनलागि नलागी स्वीकार्न सकिने भएपनि बुटवललाई प्रदेश राजधानी कुनैपनि हालतमा स्वीकार्न नसकिने अडान लिएका छन् ।
बाँके, बर्दियालाई कर्णाली प्रदेशमा लैजानका लागि बुधबार बाँकेको नेपालगन्जमा मेयर डाक्टर धवल शम्सेर राणाको संयोजकवमा संघर्ष समिति गठन भइसकेको भोलीपल्टै (विहीबार) कर्णालीका मुख्यमन्त्री शाहीले बाँके, बर्दियालाई कर्णालीमा स्वागत छ भन्ने धारणा सार्वजनिक गर्नुलाई चासोका साथ हेरिएको छ ।
यदि प्रदेशको राजधानी बुटवल नै हुने भए बाँके, बर्दियाका नागरिक कर्णाली प्रदेशमा जाने निश्चित भएको छ । यसका लागि बुधबार मेयर राणाको संयोजकत्वमा १७ सदस्यीय समिति समेत गठन गरिएको छ । उक्त समितिले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन गर्ने भएको छ । उक्त समितिमा नेकपा, काँग्रेस, राप्रपा लगायत दलको सहभागीता रहेको छ ।
बैठकले कर्णालीमा समायोजनको लागि बाँके र बर्दियाका सांसद, दल र सरोकारवाला देखि जनतासँग छलफल चलाउने तयारी गरेको छ । सहमतिका आधारमा बाँके, बर्दियाको माग पुरा नभए कर्णाली प्रदेशमा जानका लागि सडकदेखि संसदसम्मको आन्दोलन गर्ने संयोजक राणाले चेतावनी दिएका छन् । तर, बाँके बर्दियालाई वुटबवलमै राख्नुपर्छ भन्ने केही उत्छृङ्खल व्यक्तिहरूले भने सामाजिक सञ्जाल मार्फत यसको हल्का विरोध जनाउँदै आएको देखिएको छ ।
यद्यपी, बाँके, बर्दियाका जानकार, नागरिक समाज, डाक्टर, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, बहुमत व्यवसायी, सर्वसाधारण नागरिक, किसान, राजनीतिक दलका अधिकांश नेता कार्यकर्ता यदि प्रदेशको राजधानी बुटवल नै हुने भए बाँके, बर्दियालाई कर्णालीमै समेट्नुपर्नेमा उत्साहित देखिएका छन् ।
प्रतिक्रिया