बालविवाह रोक्न अभियान

बालविवाह रोक्न अभियान

कालिकोट पुष १५ : जिल्लाको खाँचाचक्र नगरपालिकाले बालविवाहविरुद्ध सचेतनामुलक अभियान संचालन गरेको छ । नगरले युनिसेफ नेपाल र जिल्ला प्रहरी कार्यालयको सहजिकरणमा बालविवाहविरुद्ध सचेतना जोगाउने अभियान थालेको हो । 

विद्यालयमा अध्ययनरत बालबालिकाले नै बालविवाह गर्ने गरेको भन्दै खाँडाचक्र नगरपालिकाले बालविवाहविरुद्ध आधारभूत तहदेखि माध्यामिक तहसम्मका विद्यालयमा सचेतना जोगाउने अभियान थालेको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले बताए ।

उनले बालविवाहलगायतका बाल हिंसाविरुद्धमा बालबालिकालाई सचेत बनाउनु आवश्यक रहेको बताए । उनका अनुसार नगरपालिकामा रहेको प्रहरी, सामाजिक संघ संस्था र जनप्रतिनिधिलाई यस अभियानमा समावेश गरिएको छ।

बालविवाहविरुद्धको अभियानअन्तर्गत आइतबार जिल्ला सदरमुकाम मान्म बजारमा रहेको महादेव आधारभूत विद्यालयमा सोसेक नेपालका महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख संगीता वली र जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यरत प्रहरी जवान पंचकन्या गिरीले बालविवाह गर्दा हुने समस्या, कानुनी सजाय र बालबालिकाप्रति हुने हिंसा न्यूनिकरणका लागि बालबालिकाकै सक्रियताका विषयमा जानकारी गराइन् ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित महिला तथा बालबालिका सेवा केन्द्र कालिकाेट प्रमुख संगीता वलीले बालविवाहप्रति बालबालिकालाई नै सचेत बनाई बालविवाह अन्त्य गर्न सकिने बताइन् । उनले बालविवाहकै कारण विभिन्न समस्यामा पर्ने र पारिवारिक सम्बन्धमा नराम्रो असर परेपछि आफ्नो सेवा कार्यालयमा कानुनी उपचारका लागि आउने गरेको बताइन् । उनले भनिन,’ जिल्लामा पछिल्लो समय घरेलु हिंसा, यौन दुव्र्यवहारजस्ता घटनाबाट पीडित आफ्नो सेवा कार्यालयमा कानुनी उपचारका लागि आउने गरेका छन् । उनीहरुलाई प्रहरीसँग समन्वय गरी न्याय दिलाउन र सामान्य प्रकृतिको विवाद भए मेलमिलापबाट समाधान गर्ने काम भइरहेको बताइन्। 

प्रतिक्रिया