धान उत्पादनमा घट्यो

धान उत्पादनमा घट्यो

दैलेख पुष १५ । जिल्लामा यस बर्ष धान उत्पादनमा गिरावट आएको छ । समयमै पानी नपरेका कारण धान उत्पादन घटेको हो । गत बर्षको तुलनामा यस बर्ष ७ दशमलव ९० प्रतिशतले उत्पादन घटेको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । यस बर्ष दैलेखमा २४ हजार दुई सय ५४ मेट्रिक टन धान उत्पादन भएको छ । जस मध्ये बर्षे धान १९ हजार ८ सय १५ र घैया धान ४ हजार ४ सय ३९ मेट्रिक टन धान उत्पादन भएको हो ।
गत बर्ष २६ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस बर्ष दैलेखमा बर्षे र घैया जातको धान खेती गरिएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । आठ हजार तीन सय सात हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले बताए । ‘गत साउन अन्तिमसम्म पनि प्राप्य पानी नपरेका कारण धान उत्पादन घटेको हो,’ उनले भने । जिल्लाको आठबिस, चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरबी, नौमूले, डुङ्गेश्वर गाउँपालिका लगायत क्षेत्रमा बढी उत्पादन हुने गर्छ ।
जिल्लामा ४३ हजार एक सय २१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन मध्ये ३४ हजार ४ सय ९७ हेक्टरमा खेती गरिन्छ । कुल खेती गरिएको २७ प्रतिशत अर्थात ९ हजार ६ सय ३८ हेक्टरमा सिचाईको सुविधा पुगेको छ । ‘उत्पादकत्व बढाउने लक्ष लिएपनि बर्षेनी उत्पादन घट्दो छ,’ पाण्डेले भने । आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता र धान रोपीसकेपछि पनि सिचाईको अभावका कारण उत्पादन घटेको पाण्डेको भनाई छ । जिल्लामा धानखेती लगाउने क्षेत्रफल बर्षेनी घट्दो छ ।

प्रतिक्रिया