कर्णालीमा हिमपात र वर्षा

कर्णालीमा हिमपात र वर्षा

नन्दराम जैसी, सुर्खेत पुष १७: चिसोले कर्णालीको जनजीवन कष्टकर बनेको छ । मंगलबारदेखि ह्वात्तै बढेको चिसोका कारण कर्णाली प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको हो । चिसोले यहाँका स्थानीयलाई घरबाहिरको काम गर्न समेत सकस भएको छ ।

चिसो बढेपछि बिहीबार बिहानदेखि कर्णाली प्रदेशको हुम्ला, मुगु, जुम्ला र डोल्पाको उच्च भू-मागमा हिमपात सुरु भएको छ । भने कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा सामान्य वर्षा हुने क्रम जारी छ । हुम्लामा बिहानदेखि सुरु भएको हिमपातसँगै चिसो बढेपछि त्यहाँका स्थानीयलाई घर बाहिर निस्कन मुस्किल परेको हो । 

चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । जुम्लामा भेडाबाख्रासहित अन्य पशुचौपायालाई समेत चिसोको संक्रमणले सताएको तातोपानी गाउँपालिकावासी मुनबहादुर कामीले बताए । हुम्लामा चिसोका कारण रुघाखोकीको संक्रमण बढ्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।

चिसोका कारण जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।वीरेन्द्रनगरको न्युनतम तापक्रम १० दशमलब १५ डिग्री सेल्सियस पुगेको जल तथा मौषम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विदोद पराजुलीले बताए । 

मौसमी पूर्वसूचना दिन सुर्खेतको रातानाङ्ला डाडाँमामा स्थापना भएको नेपालकै पहिलो मौसमी राडरकानुसार शनिबारसम्म लगातार कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात र वेशीमा वर्षाको सम्भावना रहेको पराजुलीले बताए । 

उनकानुसार कर्णाली प्रदेशसँगै सुदूपश्चिमको बाजुराको लेक क्षेत्रमा पनि हिमपात भइरहेको छ । कैलालीसहितका तराईका जिल्लामा वर्षा हुने सम्भावना छ । चिसो बढेसँगै हिमपात, वर्षा, हुस्सु र तीब्र हावाको बेगका कारण कर्णालीमा हवाई उडान समेत हुन सकेको छैन। annapurnapost.

प्रतिक्रिया