नेपाल भ्रमण वर्षः पर्यटनमा जनशक्ति नै पुगेनन्

नेपाल भ्रमण वर्षः पर्यटनमा जनशक्ति नै पुगेनन्

एजेन्सी । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ तर त्यो संख्याको पर्यटकलाई आतिथ्यता दिन चाहिने गुणस्तरीय जनशक्ति भने पर्याप्त छैन ।

हुन त नेपालमा पर्यटन तथा होटल व्यवस्थापनको अध्यापनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र ४० भन्दा बढी कलेजले शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि पर्यटन तथा होटल व्यवस्थापनका तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्ला वर्षमा यस क्षेत्रका लागि शैक्षिक जनशक्ति उत्पादन बढे पनि अझै पनि गुणस्तरीय जनशक्ति भने पर्याप्त नभएको यस क्षेत्रका विज्ञ बताउँछन् ।

नाथममा झन्डै तीन दशक टुर गाइड प्रशिक्षकका रूपमा काम गरिरहनुभएका कृष्ण खरेलले नेपालमा यो वर्ष भित्रिने २० लाख पर्यटकका लागि गुणस्तरीय सेवा दिने आवश्यक टुर गाइड पर्याप्त नभएको बताए ।

पछिल्लो समयमा नाथमसहित धेरै तालिम प्रदायक संस्थाबाट यस्ता तालिम सञ्चालन भएका छन् तर कतिपयको गुणस्तरमा समस्या छ, यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यस क्षेत्रमा उत्पादित जनशक्तिलाई ‘फिल्ड ओरिन्टेड’ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै टुर गाइड प्रशिक्षक खरेलले थप्नुभयो, टुर गाइडमा नयाँ आउने जनशक्तिलाई व्यावहारिक तालिम दिन आवश्यक छ, नाथमले तालिम दिने गरेको छ तर जति आवश्यकता पर्ने हो अहिलेको अवस्थामा यो मात्र पर्याप्त छैन ।

उनका अनुसार नाथमले उत्पादन गरेको टुर गाइडको संख्या झन्डै पाँच हजारको हारहारीमा छ । नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकाल आफ्नो संस्थाबाट उत्पादन भएका जनशक्तिमा गुणस्तरको कुनै गुनासो नभएको दाबी गरे ।

उनका अनुसार नाथम नेपालमा यस्तो संस्था हो जसले पर्यटन, होटल व्यवस्थापनका विषयमा गुणस्तरीय शैक्षिक वा तालिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया