बिहीबार राष्ट्रियसभा निर्वाचन : अर्थमन्‍त्री खतिवडासहित १९ सदस्य बिदा हुँदै

बिहीबार राष्ट्रियसभा निर्वाचन : अर्थमन्‍त्री खतिवडासहित १९ सदस्य बिदा हुँदै

राष्ट्रिय सभाको रिक्तरहेको पदमा बिहीबार हुने निर्वाचनको तयारीबारे बुधबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । साथमा अन्य आयुक्तहरु ।
तस्वीर ः रत्न श्रेष्ठ, रासस ।

काठमाडौं माघ ९ गते । संसदको माथिल्लो सदन राष्ट्रियसभाका १८ सदस्यका लागि बिहीबार मतदान हुंदैछ। एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्। ६ दलले भाग लिने निर्वाचनमा ४५ जना उम्मेदवार छन्। बिहीबार निर्वाचन भए पनि १९ सदस्यको कार्यकाल भने फागुन २० मा सकिने छ। अर्थमन्त्री डा। युवराज खतिवडासहित १९ सदस्यको दुई वर्षे कार्यकाल पूरा हुन लागेको हो।

निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पुरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ। आयोगले सात प्रदेशका उच्च अदालत रहेका सातवटा स्थानमा मतदान स्थल तोकेको छ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसार सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता छन्।

आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान स्थल तोकिएका छन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका लागि मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेको बताएका छन्।

प्रदेश १ को बिराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा मतदानस्थल तोकिएको छ। उक्त केन्द्रमा यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २ सय ८४ गरी ३ सय ६७ मतदाता छन्।

प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवनमा मतदान स्थल तोकिएको छ। प्रदेश २ मा १ सय ७ प्रदेशसभा सदस्य र २ सय ७२ स्थानीय तहका गरी ३ सय ७९ जना मतदाता छन्।

बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ। प्रदेश सभा सदस्यतर्फ १ सय १० र स्थानीय तह सदस्यतर्फ २ सय ३८ गरी ३ सय ४८ जना मतदाता छन्।

यसैगरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदानस्थल तोकिएको छ। उक्त स्थलमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १ सय ७० गरी २ सय ३० जना मतदाता रहेका छन्।

प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २ सय १८ गरी ३ सय ५ जना मतदाता छन्।

कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ४० र स्थानीय तह सदस्यतर्फ १ सय ५८ गरी १ सय ९८ जना मतदाता छन्।

सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १ सय ७६ गरी २ सय २९ जना मतदाता रहेका छन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीले मत दिन पाउने भएपनि मतभार भने फरक हुनेछ। प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजना, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला र अन्य समूह गरी दुईदुई जना गरी कुल १८ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन्।

निर्वाचनमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले भाग लिदैंछन्।

प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३र३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २र२ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३र३ जनाको दरले ६ जना उम्मेदवार, गण्डकी प्रदेशमा रिक्त महिला समूहतर्फ २ र अन्य समूहतर्फ ३ गरी ५ जना उम्मेदवार, प्रदेश ५ मा रिक्त महिला समूहतर्फ २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ३ र अन्य समूहतर्फ ४ गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन।

यस्तै कर्णाली प्रदेशमा रिक्त महिला र अन्य समूहमा २र२ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २र२ जनाका दरले ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन। महिला समूहतर्फ १६, दलितसमूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ जना र अन्य समूहतर्फ १९ गरी ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ। २ नम्वर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको सत्तासीन नेकपाले राष्ट्रियसभा निर्वाचन जित्ने निश्चित छ।

को को बिदा हुँदैछन् ?
राष्ट्रियसभामा पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेकपाका ९, नेपाली नेपाली कांग्रेसका ७, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्य छन् । बिदा हुनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, विन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन् ।

प्रतिक्रिया