कुष्ठरोगका बिरामी आफन्तबाटै तिरस्कृत

कुष्ठरोगका बिरामी आफन्तबाटै तिरस्कृत

सुर्खेत : जुम्लाको पातारासी गाउँपालिका लुमकि देउली रावतलाई कुष्ठरोग लागेको छ । ६० वर्षीया उनका बहिनी र पतिलाई कुष्ठरोग छ । शारीरिक रूपमै अशक्त उनीहरूलाई परिवार र आफन्तले हेला गर्छन् । रोगले थलिएका उनीहरूलाई तिरस्कार गर्छन् । ‘हामीलाई पूर्वजन्मका पापी भनेर आफन्तले नै घृणा गर्छन्, घरभित्र छिर्नै दिँदैनन्,’ देउलीले भनिन्, ‘रोग लागेकै कारण समाजबाट अपहेलित हुनुपरेको छ ।’ लामो समयसम्म आईएनएफ जुम्लामा उपचार गर्दा रोग निको नभएपछि अहिले उनी आईएनएफ सुर्खेतमा उपचार गराइरहेकी छन् । कुष्ठरोगकै कारण जुम्लाबाट विस्थापित भएको उनको परिवारलाई आईएनएफ सुर्खेतले एकतले भवन बनाइदिएर सुर्खेतको इत्राममा पुनःस्थापित गराएको छ ।

वीरेन्द्रनगर–७ इत्रामकी ५० वर्षीया मन्दरी नेपालीको पनि पीडा उस्तै छ । ०५८ सालदेखि कुष्ठरोग विरुद्धको औषधि सेवन गर्दै आएकी उनी आफन्तबाटै अपहेलित भइन् । गाउँमा हुने सार्वजनिक भोजभतेरदेखि आफन्तको घरमा जाँदा आफूलाई गर्ने व्यवहारप्रति उनको असन्तुष्टि छ । ‘सार्वजनिक भोजभतेरदेखि आफन्तको घरमा जाँदा छुट्टै बसेर खान लगाउँछन्’, उनले भनिन्, ‘मैले छोएको पानी र भाँडाकँुडासमेत चल्दैन, आफन्तबाटै हुने व्यवहारले मन दुख्छ ।’ भेरीगंगा नगरपालिका–३ का ५८ वर्षीय ठेसबहादुर खत्रीलाई कुष्ठरोगका कारण शरीर चिलाउने र पाक्ने समस्या छ । लामो समयदेखि औषधि खाइरहेका उनी अपहेलित भएर मर्नुपर्ने अवस्था आएको बताउँछन् ।

समाजमा बालकदेखि वृद्धवृद्धासम्मले कुष्ठरोगीलाई छुन हुँदैन भनेर हल्ला फैलाउने उनको गुनासो छ । ‘हामीप्रति समाजले गर्ने व्यवहार बाहिर एउटा र भित्र अर्कै हुन्छ,’ उनले भने, ‘कुष्ठ रोगप्रति अन्धविश्वास कायम छ, रोग हट्दै गए पनि स्थानीयमा मनको डर हटेको छैन ।’ उनीहरू जस्तै कर्णालीका सयौं कुष्ठरोगी आफूलाई रोग लागेकै कारण समाजमा अपमान खेप्नुपरेको पीडा सुनाउँछन् । कतिपयमा कुष्ठरोगी र उनीहरूले खाएको भाँडा तथा बसेको ठाउँ छुन हुँदैन भन्ने सोचाइ अहिले पनि छ । अहिले पनि कर्णालीका विकट ठाउँमा उपचारको पहुँच बाहिर रहेका कुष्ठरोगीलाई घरभन्दा अलग तथा ओढार र गुफामा राख्ने गरिन्छ ।

एक तथ्यांकअनुसार अहिले पनि कर्णाली प्रदेशमा प्रति एक हजार व्यक्तिमा चार जना कुष्ठरोगको संक्रमित छन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको तथ्यांकअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा मात्रै कर्णालीमा ५ सय ४६ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका हुन् । जसमध्ये आर्थिक वर्ष ०७१/७२ मा १ सय ८ जना, ०७२/७३ मा १ सय १९ जना, ०७३/७४ मा १ सय १५, ०७४/७५ मा पनि १ सय १५ र ०७५/७६ मा ८९ जना नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् ।

सबैभन्दा बढी कुष्ठरोगका बिरामी कर्णालीको जाजरकोटमा भेटिने गरेका छन् । स्वास्थ्य निर्देशक रीता भण्डारीले कर्णालीमा कुष्ठरोगीप्रति गरिने व्यवहार अन्त्य तथा रोग न्यूनीकरणका लागि स्वास्थ्य निर्देशनालयले विभिन्न कार्यक्रम गरिरहेको बताइन् ।

प्रतिक्रिया