छ बर्षमै पुल चर्किन थालेपछि (भिडियो रिर्पोट सहित)

छ बर्षमै पुल चर्किन थालेपछि (भिडियो रिर्पोट सहित)

छामघाट खोलामा निर्माण गरिएको पक्की पुल

दैलेख माघ १२ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगर्त दैलेख खण्डको छामघाट खोलामा निर्माण गरिएको पक्की पुल जोखिममा परेको छ । झण्डै छ बर्ष अघि निर्माण गरिएको पुल जोखिममा हो । सरकारले महत्व साथ अघि बढाएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत छामघाट खोलामा निर्माण गरिएको उक्त पुलमाथी बालुवा र माटो भरिएको छ । पुलको दुवै तर्फबाट बग्ने भलले बगाएको माटो र बालुवाहरु थुप्रिएर पुल अस्तव्यस्त बनेको हो ।

पुलको चर्किन थालेको सेफ्टी पर्खाल

पुलको एक छेउको पर्खाल भत्कन लागेको छ । पुलको पर्खाल नै चर्किएपछि यात्रुहरु त्रसित बनेका छन् । पुल नबन्दा सास्ती बेहोर्दै आएका स्थानीयलाई पुल बनेपछि सहज भएको थियो । तर, पुल नै जोखिममा पर्न थालेपछि स्थानीय चिन्तित छन् । करोडौको लागतमा पुल बनेपनि समय समयमा मर्मतसम्भार नहुँदा पुल नै जोखिममा पर्न थालेको भैरबी गाउँपालिका–३ का मानबहादुर विकले बताए । उनले नाली निर्माण गरेर भलको निकास दिन माग गरे ।
पुल वरिपरी गिट्टी बालुवा र ढुंगा उत्खनन् गरिँदा पुल जोखिममा परेको दुल्लु नगरपालिका–८ का नौरे कामी बताउँछन् । ‘पुल वरिपरीबाट जथाभावी गिट्टी बालुवा उत्खनन् भईरहेको छ, खोलामा ढुंगा बालुवा अवैध रुपमा उत्खनन् भईरहेका छन् तर सम्बन्धित निकाय मौन छन्,’ उनले भने ‘मध्यपहाडी राजमार्ग योजना कार्यालयको लापरवाही देखिन्छ ।’ मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालय, दैलेखका प्रमुख नारायणप्रसाद निउरेले त्यस खण्डको सडक स्तरोन्नतीका क्रममा पुल मर्मत गरिने बताए । उनले दुवै तर्फको बर्षातको भलले बगाएको माटो र बालुवा पुलमाथी थुप्रिएको स्वीकार गरे ।

हेर्नुहोस भिडियो रिर्पोट

प्रतिक्रिया