कर्णालीमा कुपोषणको समस्या जटिल बन्दै ,५४ प्रतिशत बालबालिका पुड्का

कर्णालीमा कुपोषणको समस्या जटिल बन्दै ,५४ प्रतिशत बालबालिका पुड्का

सुर्खेत : कर्णालीमा कुपोषणको समस्या जटिल बन्दै गएको छ। पोषणयुक्त खाना नपाउँदा अधिकांश बालबालिका कुपोषणबाट ग्रसित छन्। सरकारी तथ्यांकअनुसार प्रदेशका ६ जिल्लामा उत्पादित खाद्यान्नले वर्षभर खान पुग्दैन। खानै नपाएपछि बालबालिकाले आवश्यक पोषणतत्व पाउँदैनन्।

पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना, ख्याउटेपना र कम तौल हुने समस्या छ। प्रदेशस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार ५४ प्रतिशत बालबालिका पुड्का छन्। सात प्रतिशत बालबालिका ख्याउटे छन्।

उमेरअनुसार कम तौल भएका बालबालिका ३५ प्रतिशत छन्। बालबालिकामा रक्तअल्पता ४८, उचाइअनुसार बढी तौल भएका दुई र प्रजनन उमेर ९१५–४९ वर्षका० महिलामा हुने रक्तअल्पता ३५ प्रतिशत छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत वर्ष पनि आवश्यकभन्दा कम मात्र खाद्यान्न उत्पादन भएको छ।

उत्पादित खाद्यान्नले वर्षभर खान नपुग्ने कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए। जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट, मुगु र जुम्लामा आवश्यकभन्दा कम मात्र खाद्यान्न उत्पादन हुन्छ। खाद्यान्न अपुग हुने भएकाले यी जिल्लामा कुपोषणको समस्या बढ्दो छ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले कर्णालीमा खाद्यान्न अभावकै कारण कुपोषणको समस्या बढिरहेको बताए। उनले भने, ‘अब स्थानीय उत्पादन बढाउन दीर्घकालीन कृषि योजना बनाउँदै छौं। टन्न खान पाइने अवस्था आएमात्र कुपोषणको जालो तोड्न सकिन्छ।’

प्रतिक्रिया