जनयुद्ध दिवसमा सार्वजानिक बिदा दिने पलाता गाउँपालिकाकाे निर्णय

जनयुद्ध दिवसमा सार्वजानिक बिदा दिने पलाता गाउँपालिकाकाे निर्णय

कालिकोट : जिल्लाको पलाता गाउँपालिकाले नेपालमा १२ वर्षसम्म चलेको सशस्त्र युद्ध सुरू भएको दिन फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

दिवसको अवसरमा पलातामा सहिदको सम्झनामा निरा स्मृति कप खेलकुद प्रतियोगिता, खाडाको बस्ती हस्तान्तरण तथा पलातामा पहिलो पटक यातायात सेवाको सुरुवात गर्न लागिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए।

‘जनयुद्धका सहिदको सम्झनामा गाउँपालिकाले गत वर्षदेखि निरा स्मृति कप सञ्चालन गर्दै आएको छ’, उनले भने, ‘उक्त दिन गाउँपालिकामा बिदा दिने निर्णय भएको छ।’

अध्यक्ष बमले ऐतिहासिक जनयुद्धका कारण नेपालमा संघीय गणतन्त्र र स्थानीय सरकार निर्माण भएको बताए। अहिलेको स्थानीय सरकारको जननी जनयुद्ध भएको उनको दाबी छ।

‘जनयुद्धमा बलिदानी दिएका सहिद र आधा जीवन गुमाएका घाइतेको सम्मानका लागि पनि फागुन १ गते बिदा दिइएको हो’, अध्यक्ष बमले भने, ‘प्रत्येक वर्ष फागुन १ गते पलाता गाउँपालिकामा एक न एक नयाँ कामको थालनी पनि गरिनेछ।’

जनयुद्ध दिवसबाटै पलातामा पर्यटन क्षेत्रको प्रचार प्रसार गर्दै आन्तरिक तथा अन्य पर्यटनको आगमनमा वृद्धि गर्ने लक्ष्य रहेको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले जानकारी दिए।

बेरोजगार युवालाई स्वरोजगार बनाउन पलाता सरकारले युवा लक्षित कार्यक्रम संचालन गर्दै आएको छ। गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले युवालाई गाउँमा नै रमाउन प्रेरणा प्रदान गर्ने योजना सुनाइन्। गाउँको खेतबारीबाटै समृद्धि खोज्ने उनको भनाइ छ। जलविद्युत, पर्यटन, जडिबुटीमार्फत पलाताको मुहार फेर्नसकिने उपाध्यक्ष न्यौपानेको भनाइ छ।

प्रतिक्रिया